पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छ वर्षपछि फाल्गुनन्द ‘गोल्डकप’

चिन्तन खबर

फिदिम । छ वर्षपछि पूर्वको प्रतिष्ठित फुटवल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ ।

फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ गतेदेखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि ०७६ सालबाट यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । १० वटा संस्करण पूरा गरिसकेको प्रतियोगिताको ११औं संस्करण आयोजनाका लागि तयारी थालिएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

‘ए’ डिभिजनका न्यूनतम चार वटा टिमसहित १० वटा फुटवल टिमलाई आगामी प्रतियोगितामा सहभागी गराउने आयोजकको तयारी छ । यस्तै मधेश, बाग्मती र कर्णाली प्रदेशका एक÷एक, भारतको एक र आयोजकसहित पूर्वका अन्य फुटवल टिम प्रतियोगितामा सहभागी हुने अध्यक्ष थापा मगरले वताउनुभयो । प्रतियोगिताको विजेताले रु. पाँच लाख २५ हजार ५५५ तथा उपविजेताले रु. दुई लाख २५ हजार ५५५ रकमसहित ट्रफी र मेडल प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न रु. ७३ लाख ७५ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्च ब्यवस्थापनका लागि प्रायोजकहरुको खोजी, तीनै तहका सरकारसँग सहयोग माग गर्नेलगायत कार्य भइरहेको आयोजकले जनाएको छ । “पुराना प्रवद्र्धक र प्रायोजकसँग टुटेको सम्पर्क र सम्बन्ध पुनस्र्थापित गर्न लागिपरेका छौं”, अध्यक्ष थापा मगरले भन्नुभयो ।

०४४ सालमा स्थापित उक्त क्लबले तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सव तथा फिदिममा आयोजना हुने युवा मेलाको अवसर पारेर शुभ जन्मोत्सव फुटवल प्रतियोगिता आयोजना गर्ने गर्दथ्यो । २०६५ सालपछि भने १६औं राष्ट्रिय विभूति किराँत महागुरु फाल्गुनन्द लिङदेनको नाममा प्रतियोगिता आयोजना हुने गरेको थियो ।

खेलमैदानको पूर्वतर्फको पर्खाल भत्किएपछि ०७६ सालदेखि अवरुद्ध प्रतियोगिता अर्को वर्ष कोभिड–१९ महामारीका कारण सञ्चालन हुन नसकेको अध्यक्ष थापाले वताउनुभयो । ०७७ सालबाट फिदिम खेलमैदानको स्तरोन्नतिको काम सुरु भएपछि प्रतियोगिता स्थगन भएको थियो ।

प्रतियोगितको पहिलो संस्करणका विजेताले रु. ५० हजार तथा उपविजेताले रु. २५ हजार पुरस्कार प्राप्त गरेका थिए । यसपश्चात आयोजकले वर्षेनि पुरस्कारमा वृद्धि गर्दै लगेको थियो । ०५७ सालमा फिदिम स्पोर्टिङ क्लब अखिल नेपाल फुटवल संघ (एन्फा)मा आवद्ध भएको थियोभने फाल्गुनन्द गोल्डकप एन्फा क्यालेण्डरमा समावेश भइसकेको प्रतियोगिता हो ।