पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेवाँ खोलामा भाँचिएको मोडुलर ब्रिजः नेपालमै पहिलो प्रयास असफल !

छानबिन समितिको निष्कर्ष-अनुभव बिना काम, निर्देश बिना जडान

चिन्तन खबर

काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा जडानको अन्तिम चरणमा पुगेको ७० मिटर लामो मोडुलर ब्रिज भाँचिनुको कारण गम्भिर प्राविधिक त्रुटी भएको देखिएको छ ।

पुल भाचिएको र तीन जनाको ज्यानसमेत भएपछि अध्ययनका लागि गठित छानबिन समितिले निर्मम लापरवाही र प्राविधिक अभावलाई मुख्य कारणका रूपमा औंल्याएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाइएको १३ पृष्ठ लामो प्रतिवेदनमा नेपालमा पहिलोपटक जडान हुन लागेको यस्ता खालका ब्रिजका लागि आवश्यक दक्ष प्राविधिक, तालिम, लन्चिङ उपकरण तथा प्रस्ट मार्गदर्शन नहुनु दुर्घटनाको मूल पृष्ठभूमि रहेको उल्लेख छ।

जेठ ३१ गते ब्रिज भाँचिएपछि मन्त्रालयले सात दिनको समयसहित सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिका अनुसार भारत सरकारले ब्रिज त पठायो, तर जडानका लागि आवश्यक सामग्रीहरु लन्चिङ किट, डिजाइन, ड्रइङ, तथा ‘जडान मेनुअल’ भने उपलब्ध गराएन। निर्माण कम्पनीले पनि बिना उचित तालिम र प्राविधिक गाइडलाइन नै फिल्डमा काम अघि बढाएको देखिएको हो ।

सडक डिभिजन इलामले समस्या देखिएपछि भारतीय उत्पादक कम्पनीका इन्जिनियर समरजित दासलाई बोलाएको थियो। अन्ततः दासको निर्देशनमा अनुमानका भरमा ब्रिज जोड्ने काम भएको थियो।

टेक्निकल गाइड बिना जडान, लापरवाही प्रस्ट

प्रतिवेदनमा भनिएको छ—पुलको संरचना, ट्रस्टको लेआउट, स्वे ब्रेसिङ र ट्रान्सम जस्ता महत्वपूर्ण भागहरू आवश्यक गणनाविना राखिएको थियो। स्वे ब्रेसिङ जस्तै सहायक संरचनाहरू पनि अनुमानमा जडान गरिएको देखिन्छ, जसका कारण पुलमा अत्यधिक लोड पर्दा बेन्डिङ र टोर्सनल बकलिङ भई भाँचिएको हुन सक्ने सम्भावना देखिएको छ। तर प्रतिवेदनमा ठ्याकै यहि कारण पुल भाचिएको हो भनेर स्पस्ट भने खुलाइएको छैन ।

सामाग्रीको गुणस्तर परीक्षणसमेत नभएको प्रतिवेदनमा उल्लेख छ। यसै कारण प्रतिवेदनले दुर्घटनाको ‘एक मात्र’ कारण भने तोकेको छैन।

अघिल्लो बेलिब्रिज बगाएपछि मोडुलर ब्रिजको प्रयास

हेवा खोलामा २०८० सालमा आएको बाढीले बेलिब्रिज बगाएपछि ५० मिटरभन्दा लामो मोडुलर ब्रिज जडान गर्ने योजना बनाइएको थियो। २०८० कार्तिक १४ मा भारतबाट ब्रिज आइपुगेको हो। २०८१ असोजमा नयाँ ब्रिजको जडान प्रक्रिया सुरु भएको थियो। तर वारिपारि जोडिसकेपछि नै दुर्घटना भएको हो।

प्रतिवेदनको सुझावः गाइडलाइनसहित पुनः जडान र दीर्घकालीन नीति आवश्यक

छानबिन समितिले उत्पादन कम्पनीबाट आवश्यक निर्देशन, प्राविधिक सहयोग र लन्चिङ किट लिएर पुनः ब्रिज जडान सुरु गर्न सुझाव दिएको छ। साथै, यस्ता मोडुलर ब्रिजहरू जडान गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने, तालिम दिने र आवश्यक उपकरण नेपालमै खरिद गर्ने दीर्घकालीन नीति निर्माणको सिफारिस गरिएको छ।

घटनामा तीन जनाको मृत्यु, तीन घाइते

दुर्घटनाका बेला पुलको काम अन्तिम चरणमा थियो। निर्माणको काम गरिरहेका तीन जना मजदुर — बारा सिमरा उपमहानगरपालिका–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको घटनास्थलमै मृत्यु भयो। तीन जना घाइतेमध्ये दुई जना घर फर्किएका छन् भने एकजनाको अझै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनापछि करिब २० प्रतिशत संरचना नष्ट भएको छ।