यासोक। पालिका केन्द्रबाट सदरमुकाम जोड्ने सडक धमाधम कालेपत्रे हुदैछ । धेरै जसो स्थानीय तहलाई कालोपत्रे सडकमा जोड्न संघ र प्रदेश सरकारले काम गर्दै आएका छन । तर पाँचथरको कुम्मायक गाउँपालिकामा पहिलो पटक पालिका केन्द्रदेखि वडा जोड्ने सडक कालोपत्रे हुन थालेको छ । कुम्मायक–४ को रानीगाउँ स्थीत कविलालेबाट कुम्मायक–३ को कार्तिके सडक खण्डको ९६० मिटर सडक कालोपत्रे इश्वरी निर्माण सेवा पाँचथरले काम गर्दै आएको छ ।
संघीय ससक्त अनुदानको (भ्याट सहित) १ करोड ४१ लाख ९२ हजार ३२७ रुपैयाँको लागतमा ९६० मिटर सडक कालोपत्रे सुरु गरेको गाउँपालिकाले जनाएको छ । क्रमागत योजना अन्र्तरगत नाली सहित ५.५ मिटर चौडा सडक कालोपत्र्रे हुने भएको छ । कालोपत्रेको काम आर्थिक वर्ष २०८३ को असार मसान्तसम्ममा पुरा गर्नुपर्ने लक्ष्य राखिएको गाउँपालिकाका सव–इन्जिनियर रबिन्द्र रायले बताए । गत वर्ष सोही सडकमा गाउँपालिकाले ३३ लाख रुपैयाँ खर्च गरी सडकको ग्याभीङ, सोलिङ र सडक चौडा गरेको थियो ।
क्रमागत योजना भएकाले आगामी वर्षमा पनि निरन्तर कालोपत्रेको काम हुने कुम्मायक ३ का वडाअध्यक्ष बाबुराम कार्कीले बताए । अन्तरजिल्ला जोड्ने उदेश्य अनुरुप पहिलो चरणको कालोपत्रे हुदै आएको छ । पाँचथर र तेह्रथुम जिल्ला जोड्ने उदेश्यले कालोपत्रेको काम अघि बढेको कार्कीको भनाइ छ । प्रदेश सरकारकै लगानीमा कुम्मायक–१ यासोक बजारदेखि कुम्मायक–५ को थर्पूसम्मको २ किलोमिटर सडक स्तरउन्नती हुदै आएको छ ।
भ्याट सहितको १४ लाखको लागतमा पुर्वाधार विकास कार्यालय पाँचथरले कुम्मायक–१ यासोकको खड्ग पद्मा निर्माण सेवालाई ठेक्का दिएको छ । निर्माण सेवाले २०८२ चैत्र मसान्तसम्म काम पुरा गर्ने गरी सडकको काम सुरु गरेको छ ।
निर्माण कम्पनीले यासोक बजार स्थीत पशु र कृषि शाखादेखि सडकको साइट कटिङ १ हजार ६ सय मिटर गर्नुपर्ने छ । सडकमा ग्याभिङ १३८ घनमिटर, सोलिङ २८० र ग्राभेल ५६१ घनमिटर गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै १०८ मिटर ब्याग कटिङ गर्ने निर्माण व्यवसायी भुपेन्द्र कार्कीले बताए । निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न सडकको काम तिब्र गतिमा अघि बढाएको पुर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेश साहले जानकारी दिए ।
यता कुम्मायक गाउँपालिकाले पनि प्राकृतिक प्रकोपमा परेका घर जोगाउँन पुर्वाधार निर्माणको काम सुरु गरेको छ । गाउँपालिकाले जोखिम युक्त यासोक बजार पुर्वाधार निर्माण अन्तरर्गत भ्याट सहितको १ करोड ११ लाख ३८ हजार ३६४ रुपैयाँमा काम गर्दै आएको छ । यासोक बजारको रानीगाउँ लाइन अन्तरर्गत बजार मुनीको भाग उच्च जोखिम परेपछि संघीय ससक्त अनुदानको रकमबाट गाउँपालिको ठेक्का मार्फत नाली, प्याराफिट वाल निर्माण सुरु गरेको हो ।
चालु आर्थिक वर्ष भित्र पुरा गर्ने गरी एल.एम.बि.निर्माण सेवा पाँचथरले निर्माणको काम गर्दै आएको छ । यासोक बजारको एक मात्र पृथ्वी माविको खेलमैदानको भित्ताको भागका घरहरु संरक्षण गर्न अहिलेसम्मकै ठुलो रकम खर्च गर्न लागेको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए ।







प्रतिक्रिया