फिदिम । नेपाल पत्रकार महासंघ पाँचथरले आयोजना गरेको समाचार वाचन प्रतियोगितामा पत्रकार इवारा जवेगू प्रथम हुनुभएको छ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा पाँचथर शाखाले सोमबार आयोजना गरेको समाचार वाचन प्रतियोगिता उत्कृष्ट प्रस्तुति सहित नगद ७ हजार र प्रमाणपत्र हात पार्नुभयो । यस्तै, प्रतियोगिताको द्वितीय स्थानमा पत्रकार कमल घिमिरे र तृतीय भीम चेम्जोङ हुनुभयो । उहाँहरूले क्रमशः पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । बिजेता र उपविजेता सहभागीहरुलाई कार्यक्रमका प्रमुख अथिति तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का, विषेस अथिति प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ शाखाको सभाहलमा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूमध्ये फिदिम माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा–७ की साम्भावी श्रेष्ठ, कक्षा–९ की सुविज्ञा राई र पूजा तुम्बापोले सान्त्वना स्थान हासिल गर्दै समान एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र हात पारेका थिए । कार्यक्रममा कुल १७ जना प्रतिस्पर्धी सहभागी भएका थिए । प्रतियोगिताको मूल्याङ्कन पत्रकार मंगल बेघा, खबिन लुईटेल र सन्देश सुब्बाले गर्नुभएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथिका रूपमा बाबुराम भट्टराई, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, फोनिज प्रदेश अध्यक्ष विजयबोध लाओती तथा पूर्व अध्यक्षहरू लक्ष्मी गौतम र गिरिराज बाँस्कोटालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । समाचार लेखन तथा वाचनप्रति युवापुस्ताको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महासंघ पाँचथरका उपाध्यक्ष सरोज शर्माले जानकारी दिनुभयो । कार्यक्रम शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया