दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेले तय गरेको तीन महिने अभियानअन्तर्गत जिल्ला अधिवेशन सम्पन्न भएपश्चात गाउँ र टोलसम्म पुग्ने अभियान सुरुआत भएको हो । यस क्रममा सबै वडाका सबै टोलहरुसम्म पार्टी कमिटीहरु गठन तथा पुनर्गठन गर्ने, पार्टीका जन संगठनहरुका कमिटीहरु गठन तथा पुनर्गठन गर्ने, पार्टी प्रवेश अभियान सञ्चालन गर्ने लगायत कार्यक्रमहरु रहेको नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो ।
यस्तै यस अभियानका क्रममा पार्टी सदस्यता वितरणका लागि सिफारिस, पार्टी सदस्यता नवीकरण गर्ने, स्थानीय स्तरमा पार्टीका कमिटीहरुमा आन्तरिक विवादहरु भए तिनलाई समाधान गर्ने लगायत कार्यक्रम समेत रहेको एमाले जिल्ला कमिटी सदस्य तुलसी थापाले जानकारी दिनुभयो । उक्त अभियान जिल्लाका सबै स्थानीय तहहरुमा सुरु भएको समेत उहाँले वताउनुभयो ।
फिदिम नगरपालिकामा वडा नं. १ र ७ को वडा कमिटीको बैठक बसी अभियान सुरुआत भएको छ । फिदिम नगरपालिका वडा नं. ७ रानीटार वडा कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।
यस क्रममा माया गुरुङको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी तथा देउकुमार तामाङको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ वडा कमिटी गठन भएको एमाले फिदिम नगर कमिटीका अध्यक्ष जलकुमार तामाङले जानकारी दिनुभयो । कार्यक्रमबाट मविन्द्र नेम्वाङ, दधिराम नेम्वाङ सहित नेपाली काँग्रेसका आधा दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज वसन्तकुमार नेम्वाङको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला सदस्यहरु खगेन्द्र बाँस्कोटा, सागर नेम्वाङ, सूर्यबहादुर तामाङ, मनकुमार तामाङ, फिदिम नगर अध्यक्ष जलकुमार तामाङ, अनेम संघ फिदिम नगर अध्यक्ष लक्ष्मी नेम्वाङ, अखिल नेपाल शिक्षक संगठनका जिल्ला कोषाध्यक्ष विष्णु न्यौपाने लगायतको उपस्थिति रहेको एमाले फिदिम–७ वडा कमिटीका अध्यक्ष निशम न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया