फिदिम । नेकपा (एमाले)ले पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क का लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज फिदिममा सम्पन्न भएको प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको पूर्ण बैठकले सहमतिमा भण्डारीलाई बनाउने निर्णय गरेको हो । प्रदेशसभा क का लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं पाँचथर सहइन्चार्ज श्रीप्रसाद जबेगू, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला नेता खगेन्द्र बाँस्कोटा समेत आकाङ्क्षी हुनुहुन्थ्यो ।
लामो समयदेखि जिल्लामा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आउनुभएका अध्यक्ष भण्डारीले प्रत्यक्षतर्फ उम्मेदवार हुने आकाङ्क्षा राखेपछि केन्द्रीय सदस्य जबेगू सहितका नेताले समर्थन गर्नुभएको हो । केन्द्रीय सदस्य जबेगू सहित समानुपातिकतर्फ आकाङ्क्षा राखेका नेताहरुको आवेदन लिई जिल्ला कमिटीमा पठाइने प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक नरबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रदेशसभा समन्वय कमिटीले जिल्ला कमिटीमा सिफारिस गर्ने र जिल्ला कमिटीले प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्ने गर्दछ ।बैठकमा एमाले पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङ, सहइन्चार्ज श्रीप्रसाद जबेगू, प्रदेशसभा कमिटीका सदस्य आशारत्न जबेगू र उपेन्द्र दंगाल, जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी सहितका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
एमाले प्रदेशसभा निर्वाचन क्षेत्र क समन्वय कमिटीको संयोजक जिल्ला कमिटी उपसचिव नरबहादुर गुरुङ रहनुभएको छ । उक्त कमिटीमा उक्त भूगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला सचिवालय तथा जिल्ला कमिटीका सदस्यहरु, स्थानीय तह कमिटीका पदाधिकारीहरु, वडा कमिटीका अध्यक्षहरु, निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरु सदस्य रहने ब्यवस्था छ । प्रदेशसभा निर्वाचन क्षेत्र ख मा भने आकाङ्क्षी नेताहरुवीच समझदारीको प्रयास भइरहेको बुझिएको छ ।
प्रतिक्रिया