पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवकाशपछि विद्यालयमा अक्षयकोष स्थापना

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई नगद पुरस्कार


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५, दुम्सीपोखरीस्थित गुह्येश्वरी आधारभूत विद्यालयका अवकाशप्राप्त शिक्षक डिल्लीकुमार चेम्जोङले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु. ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
३८ वर्षे शिक्षण सेवा पूरा गरी अनिवार्य अवकाश लिनुभएका चेम्जोङले शुक्रबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा स्वागत कार्यक्रममा अक्षयकोषका लागि उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापालाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा लामो समय सेवा गर्नुभएका चेम्जोङले आफ्नो अवकाशलाई केवल बिदाइमा मात्रै सीमित नगरी शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताउनुभयो । सोही अवसरमा चेम्जोङले विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो । बिदाइको स्मरण गर्दै उत्कृष्ट कविता, गायन तथा नृत्य प्रस्तुत गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित चेम्जोङले सम्मान समेत गर्नुभएको थियो ।

वि.सं. २०४२ सालमा स्थापना भएको गुह्येश्वरी आधारभूत विद्यालयमा चेम्जोङ वि.सं. २०४५ सालदेखि शिक्षण पेसामा आबद्ध हुनुभएको थियो । करिब चार दशक विद्यालयमा सेवा गर्नुभएका चेम्जोङले २०८३ साउन ५ गतेदेखि अनिवार्य अवकाश लिनुभएको हो ।
विद्यालयमा जीवनको ऊर्जाशील समय समर्पण गर्दै पु¥याउनुभएको योगदानको कदर गर्दै विद्यालयले चेम्जोङलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । शिक्षक–अभिभावक संघले समेत कदरपत्र प्रदान गरी सम्मान गरेको थियो भने विद्यार्थी, शिक्षक तथा अभिभावकले फूलमाला र खादा लगाएर उहाँलाई बिदाइ गरेका थिए ।

विद्यालयमा नयाँ नियुक्त भई हाजिर भएका शिक्षक प्रशान्त शिवभक्ति र लिला दाहाललाई स्वागत समेत गरिएको थियो । विद्यालय परिवारले अवकाशपछि पनि चेम्जोङबाट विद्यालय र विद्यार्थीको शैक्षिक उन्नतिमा निरन्तर सहयोग र मार्गदर्शन प्राप्त हुने अपेक्षा गरेको जनाएको छ ।