पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारपामा रोकी राखेको स्काभेटरमा आगजनी

चिन्तन खबर

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–६ भारपामा रोकी राखेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट स्काभेटरको इन्जिनको सम्पूर्ण भाग जलेर नष्ट भएको छ ।

हिलिहाङ–३ का वडाध्यक्ष एवं नेकपा (एमाले) हिलिहाङका अध्यक्ष मदन गौतम सहित हिलिहाङकै भीम लिङदेन र प्रेम राई सञ्चालक रहेको सुरज निर्माण सेवा प्रा.लि.को २२५ सीसीको जुसन कम्पनीको स्काभेटरमा गएराती आगजनी भएको हो । स्काभेटर हिलिहाङ गाउँपालिकाको रु. २ लाख बजेटमा हिलिहाङ–६ को डाँडागाँउबाट ढाँडगाउँ हुँदै रेग्मीगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कार्यमा प्रयोग भइरहेको थियो ।

सडक निर्माणका लागि केही दिनअघि उक्त स्थानमा पुर्‍याइएको स्काभेटर डिजेल अभाव केही दिनदेखि रोकेर राखिएकामा डिजेल आएपछि हिँजो विहानबाट सञ्चालनमा आएको स्थानीयवासी राजेन्द्र काफ्लेले जानकारी दिनुभयो । हिँजो विहानबाट ट्र्याक खोल्ने काम सुरु गरी बेलुकी यहाँको अबिरे भन्ने ठाउँ पुगेको थियो ।बेलुकी सडकमै स्काभेटर छोडेर चालक नजिकै घरमा डेरा गरी बसेका थिए ।

मध्यरात अचानक स्काभेटरमा आगो लागेको पाएको स्थानीयवासीले वताएका छन् । स्काभेटरसँगै प्लाष्टिकका ड्रममा राखिएको पाँच ड्रम डिजेल समेत आगजनीमा प्रयोग भएकाले स्काभेटर जलेर क्षति भएको स्थानीयवासीले जनाएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । सडक निर्माणका क्रममा कुनै पनि प्रकारको विवाद समेत नरहेको स्थानीयवासीले जनाएका छन् ।