फिदिम । पाँचथरका हिलिहाङमा सत्तारुढ गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा नेकपा (एमाले)का एक जना समर्थक घाइते भएका छन् ।
दिउँसोबाट तनाबग्रस्त हिलिहाङ–६ किवामा गएराती नेपाली काँग्रेस सहित गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा हिलिहाङ–६ गुराँसेका अनिल योङहाङ घाइते भएका हुन् । योङहाङको टाउको र निधारमा चोट लागेको छ । घाइते योङहाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मौन अवधिमा एमाले र गठबन्धनका कार्यकर्ताहरुले गाउँमा भोट मागेका विषयमा हिँजो विहानैबाट तनाव भइरहेको थियो । यस क्रममा हिलिहाङ–६ कै एमाले कार्यकर्ता दुर्गा मैनालीलाई गठबन्धनका कार्यकर्ताले घरैमा गएर अपशब्द प्रयोग गर्नुका साथै आक्रमणको प्रयास गरेका थिए । यस्तै स्थानीयवासीसँग भेटघाट गर्ने क्रममा हिलिहाङ–६ का वडा सदस्यका उम्मेदवार एवम् एमाले पाँचथरका सचिव विष्णुप्रसाद सापकोटा र मैनालीलाई गठबन्धनका कार्यकर्ताले दुब्र्यवहार गरेको एमाले पक्षको भनाई छ ।
तनाबपूर्ण अवस्था आएपछि मोटरसाइकल हिँडेका एमाले कार्यकर्तालाई किवामा सशस्त्र प्रहरीको टोलीले भेटेको थियो । दुई पक्षवीच झडप हुनसक्ने भन्दै सशस्त्र प्रहरीले उनीहरुलाई अर्कै बाटो जान सुझाएको थियो ।
तर सशस्त्र प्रहरीले देखाएको बाटोतर्फ जाँदा गठबन्धनका करीब १०० कार्यकर्ताले एमालेका कार्यकर्तालाई रोकेका थिए । यस क्रममा घाइते योङहाङ सहित अन्य एमाले कार्यकर्तामाथि समेत आक्रमण भएको थियो । यस क्रममा आधा दर्जन एमाले कार्यकर्तामाथि कुटपीट हुनुका साथै मोटरसाइकल तोडफोड भएको छ ।
यता गठबन्धनका कार्यकर्ताहरुले भने जिससका निवर्तमान प्रमुख सापकोटाले पैसा बाँढेको आरोप लगाएका छन् ।
जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख समेत रहनुभएका सापकोटाले आफूहरुमाथि नियोजित रुपमा आक्रमण भएको र उल्टै पैसा बाढ्न हिँडेको आरोप लगाएको वताउनुभयो । “हामीलाई हिँजो विहानबाटै आक्रमणको प्रयास हुनुका साथै हिँडडुल गर्न अवरोध भइरहेको थियो । गठबन्धनका साथीहरुले भोट माग्ने तर हामी हिँड्न नपाउने अवस्था आएपछि गाउँ निस्किँदा आक्रमण र गालीगलौज गरिएको हो”, सापकोटाले भन्नुभयो, “अझ कतिपय सञ्चार माध्यमको प्रयोग गरेर हामीले पैसा बाँढेकोसम्म भनिएछ ।”
प्रतिक्रिया