पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा

रवीन्द्र काफ्ले

झापा । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालले करिब २६ लाख जनालाई सेवा प्रदान गरेको छ । स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिनुभयो ।

स्थापनाताका सन् १९९६ मा ८१३ जनाले सेवा पाएकामा सन् २०२२ को हालसम्ममा ८३ हजार ९८९ जनाले सेवा लिइसकेका छन् । सोही अवधिमा तीन लाख ३४ हजार ७०८ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने दुई लाख २५ हजार ७५८ वटा आँखा शिविर सञ्चालन गरिएको छ । सो शिविरअन्तर्गत २६ हजार बढीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यस्तै निःशुल्क औषधि र चश्मा पनि उपलब्ध गराउने गरिएको छ ।

आँखा अस्पतालमा आउने जो–कोहीले सेवा नलिइ नर्फिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । “आर्थिकरूपमा सेवा लिन नसकेकाहरूलाई निःशुल्क उपचार गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “खाने बस्ने सुविधासँगै जाने बेलामा यातायात खर्च पनि दिन्छौँ, अहिलेसम्म अस्पतालमा आएर त्यसै फर्किएका छैनन् ।”

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा पुरुषोत्तम जोशीले अस्पतालले समुदाय लक्षित कार्यक्रमलाई विशेष जोड दिएको बताउनुभयो । “सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “२०२० मा ८० प्रतिशत लक्ष्य हासिल गरेका थियौँ ।” उहाँले दिगो विकासको अवधारणाअन्तर्गत आँखा उपचार पनि रहेकाले सोहीअनुरुप आफूहरु लागिपरेको उहाँको भनाइ छ । अस्पतालमा आँखासम्बन्धी सामान्यदेखि अक्लोप्लाष्टिक, रेटिना, आँखा नानी सङ्कलनलगायतका विशिष्ट सेवा प्रदान गरिँदै आएको छ ।

अस्पतालले हालसम्म १० हजारभन्दा बढीलाई आँखासम्बन्धी स्वास्थ्य तालिम दिइसकेको छ भने अस्पतालमा कार्यरत १९४ कर्मचारीलाई समेत विभिन्न तालिममा सहभागी गराइएको अस्पताल व्यवस्थापन समितिका सचिव गणेश पोखरेलले बताउनुभयो ।

मेची आँखा अस्पतालले झापा, उदयपुर, पाँचथरका विभिन्न आठवटा स्थानमा सेवा केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भविष्यमा आँखासँगै नाक, कानको उपचारसमेत सञ्चालन गर्ने जनाएको छ । अस्पतालमा नेपालका झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङलगायत जिल्लासँगै भारतको दार्जिलिङ, सिक्किम, बङ्गाल, बिहारका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । अस्पताललाई आइकेयर फाउण्डेशन नेदरल्याण्डको विशेष सहयोग रहँदै आएको छ ।