पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यार्थीलाई दाताको साथ, स्कुल पोशाक सहित हुल्चियर सहयोग


पाँचथर । पाँचथरको गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीका ४४ जना विद्यार्थीलाई युवा व्यवसायी रञ्जन सम्बाहाम्फेले ७५ हजार रुपैयाँ बराबरको स्कुल पोशाक वितरण गर्नुभएको छ ।

कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा बुधवार आयोजित एक कार्यक्रमका बीच कक्षा १ देखि ८ सम्मका ४४ जना विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गर्नुभएको हो । विद्यालयको पोशाक जुटाउन समस्या हुने अभिभावक र विद्यार्थीहरूलाई आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले व्यक्तिगत खर्चमा स्कुल पोशाक सहयोग गरेको सम्बाहाम्फेको भनाइ छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक वातावरणलाई सहयोग पु¥याउने उद्देश्यले गरिएको सहयोगबाट ४४ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर तामाङले बताउँनुभयो । ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि विद्यालय पोशाकको व्यवस्था सहयोगी बन्ने विद्यालयले जनाएको छ ।
दाताको सम्मानका लागि नृत्य र कविता प्रस्तुत गर्ने ४ जना विद्यार्थीहरुको क्षमतालाई हौशला दिन उहाँले जनही ५ सयका दरले २ हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।

स्कुल पोशाक सहयोग गर्ने युवा व्यवसायी सम्बाहाम्फेलाई विद्यालयले कदर–पत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो । त्यस्तै सोही कार्यक्रममा कुम्मायक गाउँपालिकाले विद्यालयका अपाङ्गता भएका विद्यार्थी साम्योग लावतीलाई हुल्चियर समेत बितरण गरेको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङ र स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काको उपस्थितिमा लावतीलाई ३५ हजार मुल्यको हुल्चियर हस्तान्त्रण गरिएको हो । दैनिक शैक्षिक गतिविधिमा सहजता ल्याउने उद्देश्यले गाउँपालिकाले ह्विलचेयर उपलब्ध गराएको शाखा प्रमुख तामाङले बताउनुभयो ।

विद्यार्थीलाई पोशाक वितरण तथा अपाङ्गता भएका विद्यार्थीलाई आवश्यक सहयोग सामग्री उपलब्ध गराइएपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । विद्यार्थीको शिक्षाका लागि स्थानीय स्तरबाट भएको सहयोगले बालबालिकामा विद्यालयप्रति थप उत्साह बढाएको शिक्षक अभिभावक संघका अध्यक्ष सेर बहादुर थापाले बताउँनुभयो । पोशाक तथा हुल्चियर वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।