पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले सुरु गर्यो ‘जनताको साथमा कांग्रेस’ अभियान

चिन्तन खबर

काठमाडौं । सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले शुक्रबार निर्वाचनलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । मंसिर ४ का लागि तय भएको प्रादेशिक र संघीय निर्वाचनलाई लक्ष्य गरेर कांग्रेसले ७७ वटै जिल्लामा अभियान सञ्चालन गर्न लागेको हो ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पहिलो चरणको अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

अभियानका लागि ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति र पालिका कार्यसमितिहरुले आवश्यकताअनुरुप प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ । कांग्रेसले दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि गरिने जनाएको छ ।

अभियानका उद्देश्य

१. मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने ।

२. जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।

३. कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि तथा समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।

४. निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

कांग्रेसले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरुलाई विभिन्न ७ वटा जिम्मेवारी दिएको छ । उनीहरुलाई १५ दिनसम्म चल्ने अभियानका क्रममा कम्तिमा पाँच दिन तोकिएको जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुन भनिएको छ ।

जिल्लाका सबै निर्वाचन क्षेत्र र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्रको निश्चित कुनै कार्यक्रममा पनि अनिवार्य सहभागी हुन केन्द्रीय प्रतिनिधिलाई जिम्मेवारी दिइएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरेर थप सहज बनाउन केन्द्रीय प्रतिनिधिलाई आवश्यक सहजीकरण गर्न पनि भनिएको छ ।