साप्पोरो, जापान। नेपाली समाज होक्काइदोद्वारा आयोजित क्यालेन्डर विमोचन तथा सांस्कृतिक साँझ कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
शनिबार साप्पोरोमा सम्पन्न भएको कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि, अतिथिहरू, कलाकार, प्रायोजक तथा स्थानीय नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली समाज होक्काइदोले प्रकाशन गरेको नयाँ क्यालेन्डरको औपचारिक विमोचन गरिएको थियो। आयोजकका अनुसार उक्त क्यालेन्डर केवल मिति र दिनहरूको विवरणमा सीमित नभई होक्काइदोमा बसोबास गर्ने नेपाली समुदायको एकता, पहिचान तथा सांस्कृतिक सम्पदाको प्रतिबिम्बका रूपमा प्रकाशित गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजन गिरीले क्यालेन्डर प्रकाशन तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कलाकार, स्वयंसेवक तथा प्रायोजकहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
सांस्कृतिक साँझअन्तर्गत नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कलाकारहरूको मनमोहक प्रस्तुति तथा सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने कलाकारहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
अध्यक्ष गिरीले विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति तथा सामाजिक एकतालाई संरक्षण र प्रवर्द्धन गर्न समुदायको निरन्तर साथ र सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि समाजका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरूमा यस्तै सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रमममा आफ्नु धारणा राख्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि पिताम्बर गौतमले यो कार्यक्रमले जापानमा रहेका नेपालीको एकता, सहकार्य र सद्भाव बढाउने बताउनुभयो ।
कार्यक्रमको समापनमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, प्रायोजक, स्वयंसेवक तथा सहभागीहरूप्रति धन्यवाद ज्ञापन गरेको थियो।








प्रतिक्रिया