काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएको छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो । दाहालले परिवार मात्रै च्याप्ने भएपछि परियारले पूर्वमाओवादी बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को साथ लाग्दै एमाले प्रवेश गरेका हुन् ।
परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित कार्यक्रममा परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अञ्जन तिमल्सिना, कालिका नगर कमिटीका उपाध्यक्ष दिनेश बि.क, गिरिधारी सुवेदी, तुल बहादुर बि.क., नारायण प्रसाद अधिकारी, गोविन्दप्रसाद अधिकारी लगायत नेता एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा चितवननै गृहजिल्ला भएका एमालेका उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुरेन्द्र पाण्डे, सचिव टोपबहादुर रायमाझी, केन्द्रीय कमिटी सदस्यद्वय जेएन थपलिया र देवी ज्ञवाली लगायत नेताहरु सहभागी थिए ।
प्रतिक्रिया