काठमाडौं । पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका लामिछानेलाई पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि आज अदालतमा पेस गरेको हो ।
कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्व डिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।
लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । जोशी भने असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेमाथि प्रहरीले सहकारी ठगी र संगठीत अपराधमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया