होक्काइदो । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा जापानको होक्काइदोमा भव्य तीज विशेष कार्यक्रम हुने भएको छ। नेपाली समाज होक्काइदोको आयोजनामा आगामी सेप्टेम्बर ७, सोमबार साप्पोरोमा ‘तीज धमाका २०८३’ कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार कार्यक्रममा चर्चित गायिका शान्ति श्री परियारको विशेष सांगीतिक प्रस्तुति रहनेछ। परियारको प्रस्तुति सहित कार्यक्रमलाई मनोरञ्जनात्मक र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको आयोजक संस्थाका सचिव महेन्द्र केसीले जानकारी दिनुभयो।
केसीका अनुसार कार्यक्रममा होक्काइदोमा रहेका नेपाली कलाकारहरूको समेत विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। नेपाली मौलिक संस्कृति, परम्परा र तीजको भावनालाई जापानमा पनि जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम साप्पोरोस्थित Shiroishi Kumin Centre मा हुनेछ। कार्यक्रम बेलुका ४ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ भने दर्शकका लागि दिउँसो ३ बजेदेखि प्रवेश खुला गरिने आयोजकले जनाएको छ।









प्रतिक्रिया