पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फड्के तरेर आउँदैछ दशैं

विपुल अधिकारी

पाँचथर, २२ असोजः

फिदिम–११ की सुकमाया आङ्बो उमेरले ७० वर्ष कट्नुभयो । अन्य चार जना साथीहरुसँग फिदिम बजार पुगेर नजिकिएको दशैंका लागि खाद्य सामग्री खरीद गर्नुभयो । सधैं गाडीमा घर जाने उहाँसँग यसपालि भने भारी बोकेर हिँड्दै जानुको विकल्प थिएन । घर फर्कने क्रममा बाढीले सडक पुल बगाएपछि फड्के तर्दै गर्दा उहाँ भेटिनुभयो ।

“अब पाँच/पाँच किलो बोकेर लगेर खानुपर्ने भयो । घरमाथि पहिरो आयो । घर लड्न आँटेको छ”, आङ्बोले भन्नुभयो, “२५ सालमा पनि यस्तै देखेनौं । खेत पनि बगाई लग्यो । कटेरोसटेरो पनि छैन् । भातसात जम्मा (सबै) लाग्यो । हाम्रो आफ्नो खेत थिएनँ । अर्काको अधिँया कमाई गर्दै थियौं । मरिमरी दुःख त ग¥यौं नि लगिहाल्यो ।”

आङ्बोकै साथ रहनुभएका मनिषा ठटालका श्रीमान वितेको दुई महिना वित्न लाग्यो । अविरल वर्षापछि झरेको पहिराले घर बस्न जोखिमपूर्ण भएपछि विस्थापित भई अर्काको घरमा शरण लिइरहेको ठटालको भनाइ छ । “हामीलाई त चोटमाथि चोट आइलाग्यो”, उहाँले भन्नुभयो, “दशैं आइसक्यो, तर हामीलाई समस्यै समस्या छ ।”

फिदिम नगरपालिका–११ फेउदिनकी सीता थापा कुर्ताको सलमा लगाइएको भारी टाउकामा बोकेर हातमा अन्य सामग्री च्यापेर फेमे खोलाको फड्के तरेर घरतिर लाग्दै हुनुहुन्थ्यो ।

“हामी त बिहे गरेर बाहिरबाट आएका, यहाँ जन्मेकाले पनि यस्तो विपद् आएको थाहा थिएन भन्नुहुन्छ”, बाढीले फेमे खोलास्थित सडक पुल सहितका कयौं संरचना बगाएको खण्डहरबाट गाउँका अन्य साथीहरुसँग गाउँतर्फ लाग्दै उहाँले थप्नुभयो, “दशैंको सामग्री बोकेर फिदिमबाट आउँदै छौं । गाडी नपाएकाले हिँड्नै प¥यो नि । घर जसै पुग्नु छ ।”

फिदिम नगरपालिका–१० याङनामबाट फिदिम बजारसम्म सवारी सञ्चालन गर्ने धिरज लिम्बूले १० दिनपछि शनिवारदेखि सवारी चलाउन थाल्नुभएको छ । काँधमा डिजलको जर्किन बोकेर फड्केको सहायताले फेमे खोला तर्दै गर्नुभएका लिम्बू खोलापारी रहेको गाडी चढ्न यात्रुहरु पर्खिरहेकाले आफू हतारमा रहेको भन्दै हस्याङफस्याङ दौडनुभयो ।

फिदिम–१० कै धनराज थाम्सुहाङ दशैंको मुखमा बाढीपहिराको विपद्ले ‘महादुःख’ दिएको वताउनुहुन्छ । “दशैं आइरहेको छ । चाहिने सामान सबै लैजानु प¥यो । पारीपट्टि गाडी पायो भने घर पुगिन्छ कि भन्दै छु”, फेमे खोलामा भेटिनुभएका थाम्सुहाङले भन्नुभयो, “यसपालिको दशैंमा साह्रै आपत छ ।”

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिराले जिल्लाका फिदिम नगरपालिका सहित फालेलुङ र फाल्गुनन्द गाउँपालिकाका कयौं संरचनाहरु तहसनहस बनाउँदा नागरिकको दैनिक जीवन कष्टकर बनेको छ । फिदिम–फालोट सडकअन्तर्गत फिदिम–१ र ११ जोड्ने फेमे खोलाको सडक पुल बाढीले बगाएपछि यो पुल हुँदै सदरमुकाम आउने सर्वसाधारणले गत १० दिनदेखि हैरानी ब्यहोरिरहेका छन् । यत्तिकैमा दशैं आइसकेको छ । दशैंका लागि आवश्यक सामग्री फड्के तारेर घर पु¥याउनुपर्ने बाध्यता अधिकाशंको छ ।

खोलाको वारी र पारी सवारीका साधनहरु रहेका छन् । सवारीका साधनमा सिट पाउने यात्रुले खोलासम्म यात्रा गर्दछन् । नपाउनेले पैदल हिँड्नुको विकल्प हुँदैन् । आफ्नो झोलासहितका सामग्री लिएर फड्के पार गरी उनीहरु गन्तब्यमा पुग्न सवारीका साधन खोजी वा पैदल यात्रातर्फ लाग्छन् ।

फिदिम–१० का रोशन जबेगू आफूलाई आवश्यक सामग्री बजारमा खरीद गरी बोकेर घर पु¥याउने अवस्था भोग्न पर्दा अचम्म लागेको वताउनुहुन्छ । “बच्चामा बुवाआमा पुस्ताले बोको देखेको थिएँ । बाढीले पुल बगाएपछि आफैंले ब्यहोर्नुप¥यो”, जबेगूले भन्नुभयो ।

बाढीले पुल बगाएपछि यहाँ खोलालाई डाइभर्सन गरेर सवारी सञ्चालन गर्ने प्रयास गरिएको छ । तर प¥याप्त मात्रामा ह्युम पाइप नहुँदा खोलाको आधा पानीमात्रै ह्युम पाइपबाट बहेको छ भने बाँकी पानीलाई फिँजारेर सवारी सञ्चालनको प्रयास जारी छ । केही सवारीका साधन सञ्चालन भएपनि जोखिम उत्तिकै रहेको फालेलुङ–७ का पुष्प तिम्सिनाको भनाइ छ । “डाइभर्सनलाई थप ब्यवस्थित गर्नु आवश्यक देखिन्छ । अहिले अवस्था जोखिमपूर्ण छ”, तिम्सिनाले भन्नुभयो ।

यही बाटो भएर दैनिक घर फिदिम–११ फेउदिन आउजाउ गर्ने जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख यामकुमार आङ्बो पनि हिँडेर घरतर्फ लाग्दै हुनुहुन्थ्यो । “१० मिनेटमा बजार (फिदिम)बाट घर आइपुग्थें । अहिले बल्ल हिँडेर जानसक्ने अवस्था भएको छ । बाढीपहिराले केही दिन त हिँडेर पार गर्न पनि सकिएन”, उहाँले भन्नुभयो ।

फेमे खोलाको फड्के पार गर्दै अहिले फिदिम नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाको वडा नं. ३ देखि ८ सम्मका सर्वसाधारण आवतजावत गर्दै आएका छन् । दशैंले छोपिसक्दा पनि बाटो सहज नभएपछि बोकेरै भएपनि दशैंलाई आवश्यक सामग्री घर पु¥याउने ध्याउन्न यहाँ यात्रा गर्ने अधिकांशमा देखिन्छ ।

विगतदेखि बेमौसमी वर्षा हुने र डाइभर्सनले सधैं काम नगर्ने भएकाले उपयुक्त स्थानमा तत्कालै बेलिब्रिज जडान गरिनुपर्ने उनीहरुको माग छ । फिदिम–११ का लोकबहादुर बुढाथोकीले भन्नुभयो, “सडक पुल निर्माण हुन समय लाग्छ नै । हाम्रो क्षेत्रका हजारौं बासिन्दाको दैनिक जीवन सहज बनाउन तत्कालै उपयुक्त स्थानमा बेलिब्रिज जडान हुनु जरुरी छ । सबै तहका सरकारले यसमा ध्यान दिनुपर्छ ।”