पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ऊनको स्वीटर’ आजबाट देशभर प्रदर्शनमा, पाँचथरको प्राकृतिक सौन्दर्य झल्किने चलचित्रप्रति दर्शकमा उत्साह

विपुल अधिकारी

फिदिम। नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ आज (बैशाख २७) बाट देशभर एकैसाथ प्रदर्शनमा आएको छ। पाँचथरका विभिन्न पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यो चलचित्र पारिवारिक र सांस्कृतिक कथामा आधारित छ, जुन जुनसुकै उमेर समूहका दर्शकका लागि उपयुक्त छ।

चलचित्रको छायांकन फालेलुङ–४ अन्तर्गत चारराते, नवमी डाँडा, सिलौटी, साधुटार, लब्रेकुटी, सुकेटार लगायतका रमणीय स्थलहरूमा गरिएको छ। यसले पाँचथरको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटनको प्रचारप्रसारमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।

फिदिमको छाप्दीब्राही चलचित्र हलमा आज दिउँसो १ बजे र बेलुका ७ बजे दुई शोमा चलचित्र प्रदर्शन हुँदैछ। लाइन प्रोड्युसर फुङ्सो जबेगूका अनुसार, चलचित्र करिब ३० वर्षअघिको समाज, संस्कृति र प्रेमकथालाई समेटेर निर्माण गरिएको हो, जसले बालबालिका, युवा र वृद्ध सबै दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

चलचित्रमा लोकप्रिय कलाकारहरू बिपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई (तोक्मे बुढा), परिक्षा लिम्बू, मौन्से गुरुङ लगायतको दमदार अभिनय देख्न सकिन्छ। आर्टमन्डु प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ का गीतहरू—‘फूल’ (स्वरः सुजन चापागाईं), ‘काफ्ले’ (स्वरः झुमा लिम्बू र सुजन चापागाईं), ‘मखमली’ (स्वरः सुजन चापागाईं र सुनिता थेगिम) पहिले नै दर्शकमाझ लोकप्रिय भइसकेका छन्।

चलचित्र टिमले ‘ऊनको स्वीटर’ देशभरका हलहरूमा हाउसफुल हुने अपेक्षा गरेको छ।

यो चलचित्रको काफ्ले गितले सर्वाधिक माया पाएको छ ।