काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिले पार्टीभित्र हलचल मच्चाएको छ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपिरहेका अध्यक्ष नेपालमाथि झाँक्रीले “सिनो बोकेर हिँड्न सकिँदैन” भन्ने टिप्पणी गरेपछि विवाद चुलिएको हो ।
उनको अभिव्यक्तिपछि नेकपा एसभित्र चर्को असन्तोष देखिएको छ । पार्टीले झाँक्रीको सार्वजनिक भनाइलाई गम्भीर रूपमा लिँदै औपचारिक स्पष्टीकरण सोधेको छ ।
पार्टीका सचिव सोमप्रसाद पाण्डेका अनुसार अनुशासन आयोगमार्फत तीन दिने स्पष्टीकरण मागिएको हो । “उहाँको अभिव्यक्तिले पार्टी अनुशासन र नेतृत्वको गरिमा प्रभावित पार्ने भएकाले अनुशासन आयोगले स्पष्टीकरण मागेको हो,” पाण्डेले बताए, “अब उहाँको जवाफका आधारमा पार्टीले आवश्यक निर्णय लिनेछ ।”
झाँक्रीले अर्ली महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको संकेत गरेपछि पार्टी नेतृत्व थप दबाबमा आएको देखिएको छ । नेकपा एसको भीत्री राजनीति फेरि तातेको छ । अब झाँक्रीको जवाफ र त्यसमा पार्टीको निर्णयले आगामी शक्ति समिकरण कता मोडिन्छ भन्ने चासो बढेको छ ।
प्रतिक्रिया