नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बन्द भएको छ भने गोरखाको मनकामना मन्दिर शुक्रबारदेखि दर्शनार्थीका लागि बन्द गरिने भएको छ ।
पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको भएको छ ।
विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । पर्यटकका लागि पशुपति क्षेत्र खुला गरेपछि गत असोजदेखि नै चहलपहल बढेको थियो ।
गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।
कोरोना तीव्ररूपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए ।
मनकामनामा दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए ।
प्रतिक्रिया