फिदिम । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १०० स्थानमा नेपाली कांग्रेसको दाबी रहने वताउनुभएको छ ।
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत र वि.सं. २०७४ को निर्वाचनमा गठबन्धनमा रहेका दलहरुले पाएको समानुपातिकतर्फको मतका आधारमा कांग्रेसको प्रतिनिधिसभाका १०० स्थानमा आफ्नो सशक्त दाबी गर्ने उहाँले वताउनुभयो । नेपाल प्रेस युनियन पाँचथर शाखाले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री आङदेम्बेले कांग्रेसले १०० स्थान लिई अन्य स्थान सहयात्री दलले लिने गरी सहमतिका लागि प्रयास भइरहेको वताउनुभयो । “गठबन्धनलाई निरन्तरता दिनुपर्ने भएकाले केही सिट तल माथि हुन सक्छ”, आङदेम्बेले भन्नुभयो, “तर बाहिर हल्ला चलेजस्तो कांग्रेसले ८५ वा ९० स्थान लिन लागेको कुरा यथार्थ होइन ।”
कांग्रेसको चाहना निर्वाचनमा दलहरु एक्लाएक्लै लड्नुपर्छ भन्ने रहेको वताउँदै आङदेम्बेले कांग्रेसले गठबन्धन नगरे अन्य दलहरु मिल्ने र मुलुक गलत दिशामा जाने भएपछि गठबन्धन जरुरी भएको दाबी गर्नुभयो । “हाम्रो चाहना पनि एक्ला एक्लै लड्ने भन्ने हो”, उहाँले भन्नुभयो, “तर मुलुकलाई सहि दिशा दिन आगामी केही निर्वाचनहरुमा गठबन्धन हुने सम्भावना छ ।” बामपन्थी दलहरु सैद्धान्तिक मतभेद भन्दा पनि आ–आफ्ना स्वार्थले अलग भएको र भोलि एक हुनसक्ने सम्भावना रहनाले कांग्रेसले गठबन्धनलाई निरन्तरता दिन चाहेको उहाँको भनाई छ ।
कांग्रेसले हिँजोबाट सञ्चालनमा ल्याएको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि गृहजिल्ला आइपुग्नु भएका आङदेम्बेले आफू गृह जिल्लाबाटै आगामी निर्वाचन लड्न चाहेको वताउनुभयो । “विगतमा समेत पाँचथरबाटै उम्मेदवार भएको र निर्वाचित पनि भएकाले यस पटक पनि गृह जिल्लामै मेरो दाबी रहन्छ”, आङदेम्बेले भन्नुभयो, “पार्टीले टिकट दिए गृह जिल्लाबाटै प्रतिनिधिसभाको उम्मेदवार बन्छु ।”
जनताको साथमा कांग्रेस अभियानमार्फत गठबन्धनको अभ्यासलाई प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनमा देखिएका समस्या निराकरण गर्ने तथा कांग्रेसको संगठनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्य राखिएको उहाँले वताउनुभयो । पत्रकारहरुको जिज्ञासामा जनताको साथमा आङदेम्बेले कांग्रेसभित्र देखिएको अनुशासनहिनताको अवस्था अन्त्य गरिने वताउनुभयो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रसको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि पाँचथर जिल्ला प्रतिनिधि प्रदीप सुनुवारले अभियानमार्फत आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने गरी तयारी थालिने वताउनुभयो ।
प्रतिक्रिया