पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उम्मेदवार सिफारिस : पाँचथरमा प्रतिनिधिसभामा सहज, प्रदेशसभामा कठिन

चिन्तन खबर

पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरुलाई सकस परिरहेका बेला पाँचथरमा भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनौट गर्न दलहरुलाई कठिन परेको छ ।

गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले)ले प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस ग¥यो । एमाले जिल्ला कमिटीको बैठकमा पूर्वमन्त्री समेत रहनुभएका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले मात्रै उम्मेदवार बन्ने आकाङ्क्षा राख्नुभएको सो पार्टीका सचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वमन्त्री समेत रहनुभएका उक्त पार्टीका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फे, प्रदेश कमिटी सदस्यद्वय नरेन्द्रकुमार बस्नेत र आशारत्न जबेगूको नाम सर्वसम्मत सिफारिस भएको सापकोटाको भनाई छ ।

प्रदेशसभा क का लागि पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको सो दलले प्रदेशसभा ख मा भने जिल्लामा सहमति जुटाउन सकेन । तीन दिनसम्म प्रयास गर्दा समेत जिल्लामा सहमति नजुटेपछि तीन जना आकाङ्क्षीको नाम प्रदेश कमिटीमा पठाइएको सापकोटाले जानकारी दिनुभयो । एमालेले सो क्षेत्रको उम्मेदवारका लागि केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, प्रदेश कमिटी सदस्य कृष्णकुमार आङदेम्बे र जिल्ला कमिटी उपाध्यक्ष धनकुमार फियाकको नाम सिफारिस गरेको हो ।

प्रदेशमा समानुपातिकतर्फ उम्मेदवार बन्ने आकाङ्क्षी नेताहरुको पनि एमालेमा ठूलो सङ्ख्या रहेको सापकोटाले वताउनुभयो । “केन्द्रीय सदस्य श्रीप्रसाद जबेगू सहित ८–१० जना नेताहरुले प्रदेश समानुपातिकको उम्मेदवार बन्ने चाहना राख्नुभएको छ”, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसले सामान्य असन्तुष्टिका बावजुत प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सहमहामन्त्री भीष्मराज आङदेम्बेको एकल नाम सिफारिस ग¥यो । जिल्ला कार्यसमितिका उपसभापति डिकेन्द्रकुमार चेम्जोङ र फिदिम नगर कार्यसमितिका सभापति प्रकाश गुरुङले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकाङ्क्षा राखेको भएपनि कार्यसमितिले आङदेम्बेको एकल नाम सिफारिस गरेको छ ।

“उपसभापति चेम्जोङले आङदेम्बेको एकल नाम सिफारिस गर्न सहमति जनाउनु भएपछि कार्यसमितिले सर्वसम्मत रुपमा सिफारिस गरेको छ”, नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरका सचिव दीपक नेपालले भन्नुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सुरेन्द्रकुमार दाहाल सहित आठ जनाको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

तर प्रदेशसभाका दुवै क्षेत्रमा काँग्रेसले सहमति जुटाउन सकेको छैन् । यसकारण प्रदेश निर्वाचन क्षेत्र कार्यसमितिबाट सिफारिस भई आएका नामहरुलाई प्रदेश कार्यसमितिमा सिफारिस गरी पठाइएको सचिव नेपालले जानकारी दिनुभयो ।

विशेषतः प्रदेशसभा क को उम्मेदवार टुङ्ग्याउन काँग्रेसमा सकस देखिएको छ । जिल्ला कार्यसमितिका सभापति रुपनारायण जबेगू र निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ टिकटको दौडमा हुनुहुन्छ । क्षेत्रीय कार्यसमितिका सभापति भगीश्वर योङहाङ र कार्यसमितिका सदस्य लवदेब ढुङ्गाना गरी चार जनाको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको छ ।

प्रदेशसभा ख तर्फ भने आकाङ्क्षी नेताहरुको सङ्ख्या झनै ठूलो छ । गठबन्धन बनेको अवस्थामा यो क्षेत्र काँग्रेसले पाउने सम्भावना निकै कम भएपनि नेताहरु गंगाबहादुर आङदेम्बे, गोपालप्रसाद पोखरेल, चन्द्रकुमार आङदेम्बे, जीतबहादुर भण्डारी (जीतेन्द्र), धर्मेन्द्रबिक्रम नेम्वाङ, मुनेन्द्रबिक्रम नेम्वाङ, सन्तोषप्रकाश रिजाल र होमनाथ थापा यस क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । काँग्रेसमा प्रतिनिधिसभाको समानुपातिकतर्फ आठ जना, प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं. क बाट १९ जना र क्षेत्र नं. ख बाट १७ जना नेताहरु उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ ।

गठबन्धनमा एक प्रदेशसभा सदस्यको उम्मेदवार पाउने आँकलन गरिएको नेकपा (माओवादी केन्द्र)बाट समेत प्रतिनिधिसभाको उम्मेदवारमा एकल तथा प्रदेशसभाको उम्मेदवारमा एकभन्दा बढी नाम सिफारिस भएका छन् । माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य दिनेशकुमार लावतीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ र समानुपातिकतर्फ नरबहादुर दुलालको एकल नाम सिफारिस भएको छ ।

तर प्रदेशसभातर्फ भने एकभन्दा बढी नाम सिफारिस भएका छन् । प्रदेशसभा क क्षेत्रतर्फ १ नम्बर प्रदेश कमिटीका अध्यक्ष नेम्वाङ, केन्द्रीय सदस्य सीता थेबे र प्रदेश कमिटी सदस्य लालबहादुर गुरुङको नाम सिफारिस भएको छ । यस्तै प्रदेशसभा ख तर्फ केन्द्रीय सदस्य एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र प्रदेश कमिटी सदस्य शङ्खध्वज नेम्वाङको नाम सिफारिस गरिएको लावतीले जानकारी दिनुभयो । प्रदेशसभाको समानुपातिकतर्फ जुनुकुमारी लावती, होमबहादुर जबेगू, विशाल रसाइली, पेम्बा शेर्पा र मेदनीप्रसाद खत्रीको नाम सिफारिस भएको उहाँले वताउनुभयो ।

मुख्य दलहरुमा प्रदेशसभातर्फ बढी र प्रतिनिधिसभातर्फ कम आकाङ्क्षी देखिएका हुन् । प्रदेशसभा सदस्यको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बन्नसक्ने सम्भावना बढी हुने, टिकट सिफारिस गर्ने नेताहरुसँग पहुँच पुग्ने तथा निर्वाचित हुने आधार बढी हुने भएपछि प्रदेशसभातर्फ नेताहरुको आकर्षण देखिएको हो ।

पाँचथरमा सत्तारुढ गठबन्धनको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनबाट प्रदेशसभा क मा स्थान प्राप्त गर्नसक्ने सम्भावना भएपछि सो दलले जिल्ला कमिटीका अध्यक्ष कमलप्रसाद जबेगूलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । प्रदेशसभा ख बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं प्रवक्ता सगुनसुन्दर लावती उम्मेदवार बन्ने चर्चा चलेपनि यसबारे सो दलले औपचारिक घोषणा गरेको छैन् ।

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा आठ स्थानीय तह र ६० वटा वडा रहेका छन् । वि.सं. २०७४ सालमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका तीन वटै स्थानमा तत्कालीन बाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने सोही गठबन्धनबाट दुई जना समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।