पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तुम्बेवा ४ मा एमाले र माओवादी केन्द्रको वडा कमिटी समायोजन

चिन्तन खबर

फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नं ४ वलनेमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वडा कमिटी समायोजन भएको छ।

गठबन्धनका नाममा माओवादी केन्द्र र कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न खोजिएको भन्दै माओवादी केन्द्रको वडा कमिटिका अध्यक्ष एवम माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र सेर्मा सहित सचिव बाहेकका पधाधिकारी, सदस्य, भातृ तथा जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरूले आज आयोजित कार्यक्रममा एमालेको वडा कमिटीसँग समायोजनको घोषणा गरेका हुन्।

यस्तै माओवादी केन्द्रका उपाध्यक्ष एवं अनेम संघ क्रान्तिकारी तुम्बेवाका अध्यक्ष सुस्मा सेर्मा आङदेम्बे, माओवादी केन्द्र वडा कमिटीका सहसचिव महेन्द्र सुवेदी, वाइसिएल तुम्बेवाका सचिव श्याम सेर्मा लगायत ५० जना सङ्गठित सदस्य र १०३ जना पार्टी सदस्य गरी १५३ जना एमालेमा समायोजन भएका हुन् ।

माओवादी केन्द्र तुम्बेवाका ३ जना सचिवालय सदस्यहरु, ८ जना गाउँपालिका कमिटीका सदस्यहरु तथा तुम्बेवा ५ हाङगुमका ५ जना नेताहरु समेत एमालेमा समायोजन भएका एमाले तुम्बेवाका सचिव कमल थापाले जानकारी दिनुभयो ।

एमालेमा समायोजन हुनुभएका माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य नरेन्द्र सेर्माले गठबन्धनका नाममा माओवादी केन्द्र सहित कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी शक्तिलाई समाप्त गर्न लागिएकाले आफूहरु एमालेमा समायोजन भएको बताउनुभयो । उहाँले एमालेले कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी शक्तिको रक्षा गर्ने स्पष्ट भएकाले सिङ्गो कमिटीलाई समायोजनमा लागिएको बताउनुभयो।

समायोजन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य, पाँचथर इन्चार्ज, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले अप्राकृतिक गठबन्धनले मुलुकलाई अन्यौल, सङ्कट र समस्याको भूमरीमा पार्ने बताउनुभयो । राजनीतिक पार्टीको नीति र कार्यक्रमले मात्रै मुलुक अग्रगमनका जान सक्ने भन्दै उहाँले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले मात्रै सक्षम रहेको गत स्थानीय निर्वाचनले पनि प्रष्ट पारेको बताउनुभयो ।

कूल प्राप्त मतका आधारमा नेपालको सबैभन्दा ठूलो पार्टी एमाले भएको पुष्टि भएको भन्दै नेम्वाङले अब आसन्न निर्वाचनमा एमालेलाई बहुमत दिएर विकास समृद्धि र राष्ट्रियताको जगेर्ना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले विकास रुपान्तरण समृद्धि र राष्ट्रियताको जगेर्ना गर्ने पार्टीमा समायोजन भएका सबैलाई स्वागत गर्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा पाँचथर सहइन्चार्ज आइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्य कृष्ण कुमार आङदेम्बे, जिल्ला कमिटी उपाध्यक्ष धनकुमार फियाक, तुम्बेवा इन्चार्ज धनप्रसाद सावाँ, अध्यक्ष डिल्ली बुढाथोकी लगायत नेताहरुको उपस्थिति रहेको सचिव थापाले जानकारी दिनुभयो।