फिदिम । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री, नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा पाँचथरका इन्चार्ज बसन्तकुमार नेम्बाङ्गले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिनुभएको छ । आज दिउसो २ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उम्मेद्वारी दिनुभएको हो ।
उम्मेद्वारी दिदै नेम्बाङले यसअघि मन्त्री हुँदा सुरु गरेका र सुरु गर्न बाँकी कामहरू पूरा गर्नु रहेको गर्ने बताउनुभएको छ । उहाँले बितेको पाँच वर्षमा पाँचथरको विकास अतुलनीय भएको पनि दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘तीसौँ वर्षमा नभएका तर यो तीन/चार वर्षमा समग्र पूर्वाधार निर्माणदेखि लिएर यहाँको हरेक क्षेत्रको विकासलाई अघि बढाइएको छ, पाँचथर जिल्लालाई पूर्ण विद्युतीकरण बनाउने अभियान चालियो, केही काम बाँकी छ, खानेपानी स्रोत भएकाहरूमा करोडौँका योजनाहरू सुरु भएका छन् ।’
त्यस्तै एमाले प्रदेश क मा जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी र प्रदेश ख मा संविधान सभा सदस्य, एमालेका केन्द्रीय सदस्य तथा पाँचथरका सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ्गले उम्मेद्वारी दिनुभएको छ ।
त्यसैगरी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेले उम्मेद्वारी दिनुभएको छ । गठबन्धनबाट प्रदेश क का लागि नेकपा (एकीकृत समाजबादी)बाट जिल्ला अध्यक्ष कमल जबेगूले उम्मेद्वारी दिनुभएको छ भने प्रदेश ख मा माओवादी केन्द्रका तर्फबाट प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उम्मेद्वारी दिनुभएको छ ।
प्रतिक्रिया