काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा मध्यावधिमा चुनाव हुन सक्ने सम्भावना औल्याएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।
ओलीले सरकार गठनका लागि दलहरु आपसमा हानथाप गरिरहेको अवस्थामा मध्यावधि निर्वाचनको संभावना बढेको बताए । “देश फेरि घुमिफिरि मध्यावधिमा जाने सम्भवना छ । जाँदैन भन्न सकिँदैन”, उनले भने ।
प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् । “सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने सञ्चालन कसरी होला ?”, ओलीको प्रश्न छ ।
अरु दलहरुमा व्यक्तिगत र दलगत स्वार्थ देखिएका कारण सरकार नै बन्न नसकेको ओलीले बताए । उनले अहिलेको परिस्थितिलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्द एमाले मुकदर्शक बनेर नबस्ने बताए ।
“हामी मुकदर्शक भएर हेरेर बस्न सक्दैनौं । जेसुकै भए पनि अहिलेको परिस्थितिमा, ओरालो लागेको परिस्थितिलाई सकारात्मक बाटोमा कसरी फर्काउने त्यतापट्टि नेकपा एमालेको ध्यान छ”, ओलीले भने ।
प्रतिक्रिया