काठमाडौं । यस वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको पाइएको छ ।
नेपाल पत्रकार महासङ्घका अनुसार अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, सङ्गठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।
प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको छ । महासङ्घले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् ।
नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा एक सय ३२ पुरुष र १८ महिला पत्रकारसहित छ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए । जसमध्ये एक सय ९० जना पत्रकार तथा चार सञ्चारमाध्यम प्रभावित भएका थिए ।
सन् २०२२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको पाइएको छ । त्यस्ता कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको महासङ्घको भनाइ छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको महासङ्घका महासचिव रोशन पुरीले बताए । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ९नयाँ तरिका अपनाउने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया