Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नेपाली नेता विदेशीको भूराजनीतिक स्वार्थको गोटी बन्नु दुर्भाग्यपूर्णः उपमहासचिव ज्ञवाली « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नेपाली नेता विदेशीको भूराजनीतिक स्वार्थको गोटी बन्नु दुर्भाग्यपूर्णः उपमहासचिव ज्ञवाली

चिन्तन खबर

फिदिम । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले केही नेपाली नेताहरु विदेशीको भूराजनीतिक स्वार्थको गोटी बनेको वताउँदै यो अवस्था मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको वताउनुभएको छ ।

नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन कार्यक्रमलाई शुक्रवार फिदिममा सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल बदलिँदो भूराजनीतिक द्वन्द्वमा ‘नजाँनिदो’ रुपमा फस्दै गएको वताउनुभयो । तर मुलुक भूराजनीतिक स्वार्थमा फस्दा केही नेताहरु नै त्यसको गोटी बन्नु दुर्भाग्यपूर्ण भएको ज्ञवालीको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै मुलुकलाई अस्थिरतातर्फ लैजान उद्दत रहेको वताउँदै ज्ञवालीले यो कार्य अनपेक्षित र दुःखद् भएको वताउनुभयो । राष्ट्रपतिको निर्वाचनलाई उपयोग गरेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कार्यमा प्रधानमन्त्री दाहाल लागेको ज्ञवालीको टिप्पणी छ ।

“राजनीतिमा एक माघले जाडो जाँदैन् । कसैलाई एमालेलाई छक्याएर कुनै लाभ पाएँ भन्ने भ्रम भए त्यसबाट मुक्त हुन अनुरोध गर्छु”, ज्ञवालीले भन्नुभयो, “एमाले जुन स्थानमा रहेपनि मुलुकलाई अस्थिरतामा फस्नबाट रोक्न चाहन्छ ।”

वर्तमान सत्ता गठबन्धन निर्माण गर्दा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले प्रस्ताव गरेको ब्यक्ति हुनुपर्नेमा उहाँले जोड दिनुभयो । दुई महिना नवित्दै वर्तमान सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) स्वयं अग्रसर भएर गठबन्धन भत्काउन खोज्नु एमालेका लागि अनपेक्षित भएको ज्ञवालीको भनाई छ ।

मुलुकमा स्थायित्वका लागि एमाले नेपाली काँग्रेससँग पनि छलफलका लागि खुल्ला रहेको वताउँदै ज्ञवालीले गम्भीरतापूर्वक सोच्न काँग्रेस नेतृत्वलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीका केही अभिब्यक्तिले एमालेलाई शसंकित बनाएको भएपनि छलफल चलिरहेको उहाँले वताउनुभयो ।

देशको कार्यकारी प्रधानमन्त्री बहुमतीय आधारमा निर्वाचन गर्न हुने तर राष्ट्रपतिमा चाहिँ राष्ट्रिय सहमति गर्नुपर्ने विषयमा वस्तुनिष्ठ आधार नरहेको वताउँदै उहाँले एमालेले आफ्नै नेता वा अन्य दलका नेतालाई राष्ट्रपति प्रस्ताव गर्ने वताउनुभयो । सो को निर्णय भोलि बस्ने सचिवालय बैठकले गर्ने ज्ञवालीले जानकारी दिनुभयो । यद्यपि राजनीतिक ब्यक्ति नै एमालेबाट राष्ट्रपतिको उम्मेदवार हुने उहाँले स्पष्ट पार्नुभयो ।

ज्ञवालीले दक्षिण एसियाको भूराजनीतिको सोझो प्रभाव नेपालमा पर्न थालेको र शक्तिराष्ट्रहरुको द्वन्द्वमा नेपाल सहभागी नभई अघि बढ्न ठूलो चुनौति देखा परेको वताउनुभयो । ब्यापार घाटा चुलिँदै गएको, उत्पादकत्व घट्दै गएको, ब्यवसायीहरु बैङ्क गएर ऋण लिन सक्ने अवस्थामा नरहेको, तरलताको अभाव रहेको, अर्थतन्त्र चलायमान हुन सकेको अवस्थाप्रति गम्भीर हुनुपर्ने उहाँको भनाई थियो ।

यस प्रकारका समस्याहरुको परिणामका रुपमा निराशामा प्रकट भई आत्मदाह गर्ने, आत्महत्याको श्रृङ्खला बढ्दै जाने, पुँजी पलायन हुने अवस्था देखा परेको ज्ञवालीले वताउनुभयो ।

चुनावपछिको परिस्थितिलाई ध्यानमा राखेर एमालेले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गरेको र सो सरकार बनेपछि मुलुकमा केही उत्साह आएको, प्रदेश सरकारतर्फ बढेको आलोचनालाई घटाउने र १६ मन्त्रालय घटाउने भएको वताउनुभयो ।

तर पछिल्लो समय सरकार गठन हुँदाको सहमतिलाई भत्काउने, फेरी नेपाललाई अस्थिरतातिर धकेल्ने प्रयासहरु सुरु हुन थालेका र त्यसको अगुवाई प्रधानमन्त्री दाहाल स्वयंले गरेको ज्ञवालीको टिप्पणी छ ।