पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

चिन्तन खबर

काठमाडौं । कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

बुधबार प्रदेश नं. १ प्रदेश सभा बैठकबाट ‘कोशी प्रदेश’ नाम राख्ने प्रस्ताव दुईतिहाई बढी बहुमतले पारित भएको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले बिहीबार प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सचिव उमेश बस्नेतले सूचनामार्फत् बुधबारको प्रदेश सभा बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई बधाई ज्ञापन गर्दै बिदा दिने जानकारी दिए ।

बुधबारको प्रदेशसभा बैठकमा सभामुख बाबुराम गौतमले मत विभाजन गरी निर्णयार्थ पेश गर्दा दुईतिहाई बहुमतले प्रदेशको नाम ‘कोशी प्रदेश’ हुने टुंगो लगाएको हो ।

एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको ‘कोशी प्रदेश’ मा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो । एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए । बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो । यस्तै विपक्षमा ४ मत परेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए ।

एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले प्रस्ताव गरेको ‘लिम्बुवान किराँत सगरमाथा’ प्रदेशमाथि भने छलफल नै हुन सकेन । छलफलको प्रस्ताव नै अस्वीकृत भएको थियो । सो प्रस्तावको पक्षमा एकीकृत समाजवादी र जसपा उभिएका थिए ।

सातमध्ये ६ वटै प्रदेशले प्रदेश सभाको पहिलो कार्यकालमै नाम टुंगो लगाइसकेको भए पनि प्रदेश १ को भने बाँकी थियो । प्रदेश सभाको दोस्रो कार्यकालमा यो प्रदेशले पनि नाम टुंगो लगाएपछि अब सातै प्रदेशले नाम पाएका छन् ।