Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
विभेद अन्त्य गर्न एकीकृत प्रयास गर्नुपर्नेमा सरोकारवालाको जोड « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

विभेद अन्त्य गर्न एकीकृत प्रयास गर्नुपर्नेमा सरोकारवालाको जोड

चिन्तन खबर

फिदिम । जातीय आधारमा हुने विभेद, भेदभाव तथा छुवाछुत अन्त्य गर्न एकीकृत प्रयास गर्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । विभेद कुनै एक पक्षको पहल र प्रयासले अन्त्य नहुने भन्दै सरोकारवालाले एकीकृत प्रयासको आवश्यकता औंल्याएका हुन् ।

१७औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आज पाँचथरको फिदिममा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले सबै पक्ष विभेद अन्त्यका लागि तत्पर भएपनि एकीकृत प्रयास हुन नसकेको वताए । “विभेद हटाउनु पर्छ भनेर सबै जागरुक भएको अवस्था छ । स्रोत साधन स्थानीय स्तरमा जुट्न थालेको छ”, नेकपा (माओवादी केन्द्र) पाँचथरका संयोजक विशाल रसाइलीले भन्नुभयो, “विभेदजस्तो समाजको समस्यालाई अब पालेर नराखौं । सबैले एकीकृत प्रयास गरौं ।”

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले विगतमा हुने गरेका एकीकृत प्रयासलाई समयअनुसार रुपान्तरित गर्नुपर्ने वताउनुहुन्छ । “२० वर्षअघि हामीले सहभोज गरेर विभेद अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिएका थियौं । अब समयअनुसार त्यस्तै चेतनामुलक कार्यक्रम अघि बढाऔं”, काफ्लेले भन्नुभयो, “यसमा स्थानीय तहले आवश्यक सहयोग गर्नेछ ।”

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती संविधान, कानून र ऐनमार्फत जातीय आधारमा हुने भेदभाव र छुवाछुत दण्डनीय बनेपनि विभेद अन्त्य गर्ने प्रयास एकीकृत नभएको वताउनुहुन्छ । “सार्वजनिक पद धारण गर्ने सबैले विभेदविरुद्ध सन्देश दिनुपर्छ”, प्रजिअ मंग्रातीले भन्नुभयो, “विभेदमा परेको समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक स्तर उकासेर प्रतिस्पर्धी बनाउनुपर्छ ।”

प्रजिअ मंग्रातीका अनुसार पाँचथरमा प्रजिअ अध्यक्ष हुने दलित समन्वय समितिको गत सातामात्रै बैठक बसी दलित समुदायका परम्परागत पेशालाई आधुनिक र ब्यवसायिक बनाउन ठोस् कार्यक्रम र बजेट राख्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडा जातीय आधारमा हुने छुवाछुतलाई कानूनले अपराधमा रुपमा लिएको विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने वताउनुहुन्छ । “अहिले कम्तिमा जबरजस्ती करणी र बालबालिकासँग सम्बन्धित मुद्दामा कसैले दबाव दिने प्रयास समेत गर्न छाडेका छन्”, प्रनाउ खतिवडाले भन्नुभयो, “जातीय आधारमा हुने भेदभाव र छुवाछुतका घटनालाई पनि त्यसरी नै लिने संस्कार बसाऔं । माफी दिन छाडौं ।”

विगत तीन वर्षयता पाँचथरमा जातीय भेदभाव र छुवाछुतका कुनै पनि मुद्दा नपरेको उहाँले जानकारी दिनुभयो । यद्यपि अपराधका धेरै पीडित भने विभेदमा परेको दलित समुदायका ब्यक्तिहरु हुने गरेको खतिवडाको अनुभव छ । “पाँचथर सहित विभिन्न स्थानका कार्यालयमा काम गर्दा मेरो अनुभवले अपराधका धेरै पीडित चाहिँ दलित समुदायकै ब्यक्ति हुने गरेको पाएको छु”, प्रनाउ खतिवडाले भन्नुभयो, “बेचबिखन, जबरजस्ती करणी, हत्या आदिका घटनामा पीडितहरु जनसाङ्ख्कि हिसाबले दलित समुदायकै बढी हुनुहुन्छ ।”

जिल्ला प्रहरी कार्यालयले सामाजिक सेलमार्फत जातीय भेदभाव र छुवाछुतका घटनामा पीडितलाई सहयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला न्यायाधिवक्ता रिद्धि निरौला जातीय भेदभाव र छुवाछुतका घटनालाई सरकारवादी मुद्दा बनाइने हुँदा भेदभाव र छुवाछुतका कुनै पनि घटनामा पीडित चुप लागेर बस्न नहुने वताउनुभयो ।

समता नेपाल पाँचथरको आयोजनामा आयोजित अन्तरक्रिया तथा रक्तदान कार्यक्रममा ८ जनाले रक्तदान गरेको आयोजक संस्थाका सचिव खगेन्द्र धमलाले जानकारी दिनुभयो । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय पाँचथर, अनौपचारिक क्षेत्र सेवा केन्द्र, सुनचाँदी ब्यवसायी संघ, सिलाई बुनाई तथा तयारी पोशाक संघ, नेपाल दलित संघ, उत्पीडित जातीय मुक्ति समाज, दलित मुक्ति मोर्चा र नेपाल मुक्ति संगठनको सहआयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समता नेपाल पाँचथरका अध्यक्ष सहमान विश्वकर्माले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि हालसम्म भएका प्रयास, कानूनी ब्यवस्था तथा अब अघि बढाउनुपर्ने कार्यक्रममा विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।