पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीले पुल बगाएपछि ताप्लेजुङ र पाँचथरका दुई पालिकासँगको सडक सम्पर्क विच्छेद

चिन्तन खबर

पाँचथर । भीषण वर्षापछि आएको बाढीले हेंवा खोलामा रहेका दुई वटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ ।

गएराति भीषण वर्षा भएपछि हेंवा खोलामा बाढी आएको थियो । बाढीले मेची राजमार्गको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेंवा खोला पुल बगाएको छ । बाढीले ५४.५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । वि.सं. २०४२ सालमा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गएरातिको बाढीले ३ वटा स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।

यस्तै तमोर कोरिडोर सडकअन्तर्गत तीन वर्षअघि हेंवा खोलामै निर्माण भएको माझीटारस्थित बेलिब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने बेलिब्रिजका सबै संरचना बाढीमा बगेका छन् ।

दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ । ताप्लेजुङबाट तमोर कोरिडोर र मेची राजमार्गमात्रै सिधा सडक सम्पर्कका हुने सडकहरु हुन् । सडक सम्पर्क विच्छेद भएपछि आकस्मिक विरामीहरुलाई अस्पतालसम्म पु¥याउने कार्य चुनौतिपूर्ण हुने भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दूग्धजन्य उत्पादन र सागशब्जी खेर जाने अवस्था आएको छ ।

गएरातिको बाढीमा परी जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका र फालेलुङ गाउँपालिकामा गरी ६ जना सम्पर्कविहीन भएका छन् । हेंवा खोलाले हेंवा खोला ‘ए’ र तल्लो हेंवा खोला जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ भने तटीय क्षेत्रका कयौं संरचना बगेका छन् ।

यस्तै पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोलाले पाँचथरको याङवरक गाउँपालिका तथा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यहाँ दर्जनौं घर परिवार विस्थापित भएपनि क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन् । यस क्षेत्रमा अहिले वर्षा कम भएको छ ।