पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फालेलुङद्वारा आयातित खादा, ब्याच र माला प्रयोगमा रोक

चिन्तन खबर

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकाले गाउँपालिका र अन्तर्गतका निकायमा हुने कार्यक्रममा सार्वजनिक खर्चबाट आयातित खादा, ब्याच र कृतिम मालाको प्रयोगमा रोक लगाएको छ ।

गाउँ कार्यपालिकाको बुधवार बसेको बैठकले अनावाश्यक खर्च बढाउने र स्थानीय स्तरमा रोजगारी सिर्जना नगर्ने सामग्रीको प्रयोगलाई गाउँपालिकाअन्तर्गतका निकायमा हुने कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेद्वारा बुधवार जारी नै सोसम्बन्धी सूचनमा सार्वजनिक खर्चबाट हुने कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालासहितका आयातित वस्तुको प्रयोग नगर्न भनिएको छ ।

धार्मिक प्रयोजनबाहेक गाउँपालिकासहित सार्वजनिक निकाय तथा कार्यालयहरु, संघ संस्था, विद्यालयलगायत निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न गाउँपालिकाले सूचित गरेको छ । गाउँपालिकाले विभिन्न कार्यक्रममा यस प्रकारका सामग्री प्रयोग गरी सोसम्बन्धी बिल, भरपाई पेश हुन आएमा भुक्तानी नगर्ने समेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो ।

सार्वजनिक खर्चमा आयात गरी भविश्यमा प्रयोग नहुने सामग्री प्रयोग गर्दा ब्ययभार बढ्ने भएकाले यी सामग्रीको प्रयोगमा रोक लगाई सार्वजनिक खर्चमा मितब्ययिता ल्याउन टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।

गाउँपालिकाले आयातित सामग्रीको सट्टामा अतिथि सत्कारमा स्थानीय स्तरमा उत्पादन हुनसक्ने प्राकृतिक फूल, सल्ला, पात लगायतबाट निर्मित फूल, फूलगुच्छा, माला लगायतको प्रयोग गर्न समेत गाउँपालिकावासीलाई आग्रह गरेको छ । स्थानीय उत्पादनको प्रयोगले रोजगारी सिर्जना, नयाँ ब्यवसाय सञ्चालन तथा स्थानीयवासीको आयआर्जनको माध्यम समेत बन्नसक्ने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भरतकुमार खपाङ्गीले वताउनुभयो ।

उक्त बैठकले फालेलुङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तहवृद्धि गर्न तहवृद्धि सिफारिस समिति गठन गरेको छ भने गत आ.व.मा उत्कृष्ट ठहरिएका शिक्षक, कर्मचारी, पशुपालक, कृषक, विद्यार्थी, करदाता लगायतलाई पुरस्कृत गर्ने भएको छ ।