पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले शुक्रबार फिदिममा महंगी र भ्रष्टाचारको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
राप्रपाको र्यालीले आकाशिंदो मूल्य वृद्धिले जनता मारमा परेको भन्दै फिदिम बजार परिक्रमा गरेको थियो । भ्रष्टाचारको अन्त्य र किसानलाई मल, बिउ उपलब्ध हुनु पर्ने भन्दै नारा लगाएको थियो ।
‘सरकारको उपस्थिति नाममा मात्र सीमित भएको छ । सिंहदरबारमा अवस्थित वर्तमान सरकारले जनताको पीर मर्का बुझ्न सकेन । चरम मूल्य वृद्धि र भ्रष्टाचारको माध्यमबाट सरकारले जनतालाई सास्ती मात्र दिएको छ । हामी यसको विरोध गर्दछौं र जनतालाई समयमै राहत दिन सरकारसँग जोडदार माग गर्दछौं,’ राप्रपा पाँचथर जिल्लाका आन्दोलन परिचालन समितिका संयोजक तथा पूर्व केन्द्रीय सदस्य राजकुमार जोशीले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो ।
उहाँले सरकारले किसानलाई मल र बिउ जस्तो आधारभूत सेवा दिन नसकेको भन्दै राप्रपा पाँचथरका नेता झलक थापाले सरकारको आलोचना गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय परिसरमा बोल्दै थापाले भन्नुभयो ‘आम जनता पिडामा छन्, किसान कष्टमा छन् तर सरकार कानमा तेल हालेर बसेको छ । सरकारको यस्तो गैरजिम्मेवारीले कष्टमाथि कष्ट मात्र बढ्ने अवस्था छ । त्यसैले सरकार जिम्मेवार बनोस् भनेर हामीले देशव्यापी विरोध गरेका छौं ।’
प्रतिक्रिया