पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीपीडितको घाउमा मलम: नेपाली समाज होक्काइदोको ३ लाख २१ हजार येन सहयोग

विपुल अधिकारी

होक्काइदो । नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा पीडितको राहतका लागि जापानस्थित नेपाली समाज होक्काइदोले ३ लाख २१ हजार ७ सय ४६ जापानी येन सहयोग गर्ने भएको छ।

समाजले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो। सेप्टेम्बर ७ (भदौ २२) गते होक्काइदोको सप्पिरोमा आयोजित तीज विशेष कार्यक्रमका क्रममा समाजले बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गरेको हो।

समाजका सचिव महेन्द्र केसीका अनुसार तीज विशेष कार्यक्रमका लागि बिक्री भएका टिकटबाट संकलित रकमको २५ प्रतिशत तथा कार्यक्रममा राखिएको डोनेसन बक्समा प्राप्त रकम गरी कुल ३ लाख २१ हजार ७ सय ४६ जापानी येन संकलन भएको हो।

नेपालमा गएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको भन्दै समाजले पीडितको राहतमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्न लागेको जनाएको छ।

समाजका उपाध्यक्ष रोशन निरौलाका अनुसार, बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गर्न लागिएको हो।

“बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको घाउमा थोरै भए पनि मलम लगाउने उद्देश्यले समाजले यो सहयोग गर्न लागेको हो,” उपाध्यक्ष निरौलाले भन्नुभयो।

नेपाली समाज होक्काइदोले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला नेपाल र नेपालीको साथमा उभिने समाजका अध्यक्ष राजन गिरीले बताउनुभयो ।

समाजले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितहरुलाई सकेको सहयोग गर्न आग्रह समेत गरेको छ ।