जनकपुर । लामो प्रतीक्षापछि जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै जनकपुरलगायत धनुषाका सीमार्वती गाउँका स्थानीय बासिन्दालाई केही सहज भएको छ ।
आठ वर्षअघिसम्म चलेको न्यारोगेजलाई ब्रोडगेज रेल्वेले विस्थापन गरी सेवा सुरु गरिएकामा सीमापारि जयनगरका व्यवसायी पनि खुसी छन् । यो नेपालको एकमात्र रेल्वे लाइन पनि हो ।
भारतीय विद्युतीय रेल सञ्जालकै छेउबाट अहिले नेपालको डिजेल इन्जिनयुक्त रेल छुट्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ छँदा रेल खरिद गरी सञ्चालनको तयारी गरिएको थियो ।
ओली नेतृत्वको सरकार ढलेपछि गत चैत तेश्रो साता उक्त रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत तेस्रो साता उक्त रेल सेवाको भर्चुअल उद्घाटन गरेका थिए । रेलमा कुल पाँचवटा डिब्बा छन्। तीमध्ये एक वातानुकूलित छ जसमा ५८ जनासम्म यात्रु अटाउँछन्। अन्य चारवटा सामान्य डिब्बाको कुल यात्रु क्षमता भने १ हजार ३ सय हो ।
नेपाल रेल्वेका अनुसार हरेक दिन बिहान पहिलो रेल जयनगरबाट कुर्था ८ः३० बजे आउँछ । उक्त रेल कुर्थाबाट १०ः३० बजे जयनगर फर्किन्छ । दोस्रोपटक रेल दिउँसो ३ बजे जयनगरबाट कुर्थाका लागि आउँछ र ५ः३० बजे फर्कन्छ ।
३५ किलोमिटर दूरीमा कुर्था, बैदेही, खजुरी, इनर्वा र जयनगर गरी ५ स्टेसन तथा जनकपुर, परवाहा र महिनाथपुरमा हल्ट राखिएको छ । हल्टमा यात्रु चढ्ने र ओर्लिने छन् भने स्टेसनमा मालसामान लोड–अनलोड हुन्छन् ।
प्रतिक्रिया