पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिसेक्पा तङनाम मनाइँदै

चिन्तन खबर

फिदिम । मौलिक पर्वहरु मनाउँने लिम्बू समुदायले साउने सङ्क्रान्तिको दिनलाई सिसेक्पा तङनामका रुपमा मनाउँदै छन् ।

यस वर्ष याक्थुङ येले पात्रोअनुसार सिसेक्पा तङनाम हिँजो नै भएतापनि परम्पराअनुसार आज साउन १ गते यो पर्व मनाउदै गरिएको लिम्बू संस्कृति, भाषा तथा ज्योतिषशास्त्रका जानकार हरिचन्द्र लावतीले जानकारी दिनुभयो । लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्लबाठ अन्न, फलफूल र पात लगायतका वस्तुहरु संकलन गरी ल्याउने गरिन्छ । ती वस्तुहरु दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहि आएको जानकारहरु वताउँछन् ।

परिवार मिलेर सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरिन्छ । सिसेक्पा तङ्नामको अवसर पारेर खानपिनपछि बन्दुक पड्काउने चलन छ । यस्तै थाल, झ्याम्टा, नाङ्लो र ढोल बजाई घर वरिपरीसमेत घुमेर खराब तत्वलाई घरभित्रबाट खेदाउने चलन छ ।

लिम्बू मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने गरिन्छ । सिसेक्पा तङनाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ भनी मनाउने गरेको गरिन्छ । पछिल्लो समय लिम्बू समुदाय मौलिक पर्वहरुको संरक्षणमा जुट्न थालेका छन । किराँत याक्थुङ चुम्लुङले संस्थागत रुपमा यी पर्वहरुका विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ ।