पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोसी ब्यारेजका सबै ढोका नखोलिँदा डुबानको खतरा

चिन्तन खबर

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ । सप्तकोसीमा मंगलबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ८ सय १० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

यादवले पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ । कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीय शिक्षक सन्तोष चन्द्रवंशीले बताए ।

उनले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्वसाधारणको अवस्था सहज बनाइदिन सरकारसँग माग गरे । सप्तकोसीमा सोमबारदेखि नै पानीको बहाव निरन्तर बढिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

उनले कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको पनि जानकारी दिए । यादवले कोसी आसपासका जनतालाई बाढी आएको समयमा उच्च सर्तकता अपनाउन आग्रह पनि गरेका छन् ।