काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ ।
सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेर वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ६ महिनापछि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी प्रधान कार्यालयको आँकलन छ ।
मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष निकालेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सवै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने देखिएको हो ।
प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएपछि म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिन्छ ।
मतदान स्थल र केन्द्र थपिने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रवक्ता टेकप्रसाद राईको भनाई छ । स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई सोझै भर्ना गर्नेबारे पनि छलफल भइरहेको छ ।
स्थानीय तहमा खटिएकाहरुलाई प्रशंसापत्र सहित आए सिधै भर्ना गर्नेबारे छलफल भइरहेको हो । यद्यपि यसबारे ठोस् निर्णय भइनसकेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया