पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनिषाको कृति ‘छोरी’को फिदिममा गृह विमोचन तथा परिचर्चा

चिन्तन खबर

फिदिम । लेखिका एवं विद्यार्थी नेतृ मनिषा आचार्यको कृति ‘छोरी’को आज फिदिममा गृह विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नौलो साहित्यिक विहान समाज पाँचथरले आज आयोजना गरेको कार्यक्रममा समीक्षकद्वय राज दिलाञ्जली र राधा लुइटेलले कृतिमाथि समीक्षा गर्नुभएको थियो भने मधुराज केरुङले कृतिमाथि प्रतिक्रिया र सुनिल आङ्बोले पाठकीय प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो । गत हप्ता काठमाडौं विमोचन भएको उक्त कृति नारीवादी कोण र प्रगतिवादी धारको सशक्त रचना रहेको भन्दै टिप्पणीकारले लेखक आचार्यको प्रसंशा गरे ।

समीक्षक राज दिलाञ्जलीले नारीवादी कोणबाट लेखिएको आख्यान कृति एक अब्बल रहेको र प्रगतिवादी धारलाई सशक्त रुपमा प्रस्तुत गरेको टिप्पणी गर्नुभयो । कृतिमा पात्रहरुमा समाज रुपान्तरणको भोक देख्न पाइने, यदाकदा उग्र नारीवाद प्रस्तुत भएपनि अब्बल भाषिक स्तर र पात्रहरुको संयोजन अत्यन्तै आकर्षक रहेको दिलाञ्जलीले प्रतिक्रिया दिनुभयो ।

१८ उपशीर्षकमा समेटिएको कृति २८५ पृष्ठको रहेको छ । लेखकले पहिलो कृति नै आख्यानमा यस प्रकारको अब्बल प्रकाशन गर्न सक्नु लेखकीय अब्बलताको संकेत भएको र यसले जिल्लामा एक सशक्त लेखक थप भएको उहाँले वताउनुभयो ।

अर्का समीक्षक राधा लुइटेलले नारीका दुःखहरु समेट्दै छोरी कृतिले पितृसत्तात्मक समाजको यथार्थलाई प्रकाशमा ल्याएको आफूले पाएको वताउनुभयो । यस्तै विवाह बालबच्चा जन्माउनका लागि मात्रै हो भन्ने कतिपयको सोच र शिक्षित र विकसित समाजमा समेत नारीमाथि विभेद रहेको कृतिमा देखाइएको उहाँले चर्चा गर्नुभयो । नारीमाथिका यत्तिका वेथिति हुँदाहुँदै पनि समाजको रुपान्तरण गर्नुपर्छ भन्ने सन्देश र चेत कृतिले दिएको लुइटेलले समीक्षा राख्नुभयो ।

लेखिका आचार्यले छोटो समयमा आफूले देखेका, भोगेका, सुनेका, बुझेका विषयहरुलाई घटनाक्रमका रुपमा पुस्तकको स्वरुप दिएको वताउनुभयो । विनाअनुभव पुस्तक प्रकाशन गर्नु परेपनि कृतिका लागि आफूले पहिल्यैबाट तयारी थालेको उहाँले वताउनुभयो ।

छोरीमाथि समाजको दृष्टिकोण, छोरीमाथि परिवार र समाजको अविश्वास र शंका लगायतलाई मूल विषय बनाई कृति प्रकाशन गरिएको वताउँदै आचार्यले पाठक तथा समीक्षकका प्रतिक्रियाहरुलाई सङ्गालेर आगामी कृतिहरुलाई झनै अब्बल बनाउन आफूले प्रयत्न गर्ने वताउनुभयो । कार्यक्रममा जिल्लाका लेखक तथा साहित्यकारहरुले कृतिमाथि टिप्पणी राख्दै आ–आफ्ना रचना वाचन समेत गरेका थिए ।