काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेतासँगको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाव दिनुभएको छ । राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष दाहालसहितका शीर्ष नेतासँग राष्ट्रपति भण्डारीले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो । समिति बनाएर छलफल हुनुपर्छ । त्यहाँबाट सर्वसम्मत होस् भन्ने छ’ भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ । त्यसै गर्दा राम्रो हुन्छ भन्नुभयो ।’
जवाफमा दाहालले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको दाबी गर्नुभएको छ । ‘प्रधानमन्त्री केपीजी हुँदा सहमति बनेकै विषय हो । राज्य व्यवस्था समितिमा विवाह गरेर आउनेको हकमा ७ वर्षको प्रावधान बनाएको थियो । सरकारले लग्दै लगेन’ दाहालको भनाई उदृढ गर्दै ती माओवादी नेताले भने ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशभन्दा केही फरक नभएको दाहालको भनाई थियो। जन्मसिद्धका आधारमा सबैका छोराछोरीले नागरिकता पाउन नागरिकता विधेयक पास हुनुपर्ने दाहालले जोड दिएको ती नेताले बताए ।
प्रतिक्रिया