Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
तेह्रथुममा एमालेबाट प्रतिनिधिसभाका लागि सुब्बा र कन्दङवाको नाम सिफारिस « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

तेह्रथुममा एमालेबाट प्रतिनिधिसभाका लागि सुब्बा र कन्दङवाको नाम सिफारिस

चिन्तन खबर

तेह्रथुम । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ । म्याङलुङस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यतर्फ विजय सुब्बा र तेजमान कन्दङवाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका दुवै नेता अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् । सुब्बा प्रतिनिधिसभा सदस्य हुन् भने कन्दङवा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभा सदस्य छन् । ०४८ र ०५६ मा दुई पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका सुब्बा पछिल्लो समय जिल्लामा भन्दा काठमाडौंमै बढी बसोबास गर्छन् ।

जिल्लास्तरमा लोकप्रिय नेता कन्दङवा पार्टी अध्यक्षसमेत हुन् । पाँच वर्षअघि एमालेको जिल्ला अध्यक्ष भइसकेका नेता कन्दङवा हाल पनि दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका छन् । सुब्बा एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष हुन् ।

०६९ सालमा सुब्बा नेकपा (एमाले) त्यागेर सुब्बा संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पछि ०७१ सालमा सुब्बालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यकै हैसियत दिएर एमाले फर्काएका थिए । सुब्बा यसबीचमा साझा प्रकाशनको अध्यक्ष भए । ०४२ सालमै जनप्रशासन क्याम्पस काठमाडौंमा अखिल बाट स्ववियू सभापति बनेका सुब्बा जिल्लामा एमालेका पुराना नेता हुन् ।

अध्यक्ष ओलीनिकट भएर काम गरिरहेका सुब्बाले यस पटक टिकट पाउने सम्भावना बलियो रहेको एमाले नेताहरुको भनाइ छ । एमाले त्यागेर उनी बाहिरिएपछिका केही वर्षयता उनी जिल्लाका कार्यकतामाझ नजिकिन सकेका छैनन् । जिल्लामा नबस्ने, जातीय कुरा गर्ने, जिल्लामा एमालेलाई अफ्ठ्यारो अवस्थामा पुर्‍याएर पार्टी त्यागेको, अवसरबादी जस्ता आरोप उनी माथी एमाले कार्यकर्ताले लगाउने गरेका छन् ।

दुई कार्यकाल पार्टी अध्यक्ष र जिविस पूर्वउपसभापतिसमेत भइसकेका कन्दङवाको जिल्लामा पार्टी संगठनमा बलियो पकड छ । स्थानीय स्तरमा सामाजिक काममा समेत सक्रिय कन्दङवा विकासप्रेमी नेताका रूपमा समेत चिनिन्छन् । ०७४ मा पनि कन्दङवा प्रतिनिधिसभा सदस्यका दाबेदार थिए ।

अन्तिम समयमा आएर उनलाई पार्टीले प्रतिनिधिसभा सदस्यको टिकट नदिएर प्रदेशसभामा उमेदवार बनाएको थियो । नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलाई हराउँदै उनी प्रदेशसभा सदस्यमा विजयी भए ।

सुब्बाले एमाले छाडेपछि दोस्रो ‘हेभीवेट’ नेता भवानीप्रसाद खापुङलाई एमालेले लगातार तीन पटकसम्म प्रतिनिधिसभा सदस्यमा उमेदवारको टिकट दियो । दुई पटक खापुङ विजयी भए । तर खापुङ अहिले एमालेमा छैनन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका खापुङ हालको गठबन्धन सरकारका स्वास्थ्यमन्त्री छन् । एमालेको पकड मानिने जिल्लामा ०१५ र ०६४ बाहेक सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भने गठबन्धन दलका कारण एमालेले आफ्नो पुरानो पकड गुमाएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये तीन स्थानीय तहमा मात्रै एमालेका उमेदवार विजयी भए । ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा भने एमाले एक नगरपालिकासहित पाँच स्थानीय तहमा विजयी भएको थियो ।

यसैबीच एमालेले प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि उमेदवार सिफारिस गरेको छ । प्रदेश क्षेत्रीय समन्वय कमिटी (क) को बैठकले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य तथा एमाले निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी, अनुभूतिबम नेपाली, अर्जुन ढुंगाना, किशोरचन्द्र दुलाल, कृष्ण गड्तौला र लक्ष्मी कार्कीको नाम उमेदवारका लागि सिफारिस गरेको छ । समानुपातिकतर्फ कमला दर्नाल, रेनुका भट्टराई र हिमादेवी कार्कीको नाम सिफारिस गरिएको एमाले युवा नेता प्रकास श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमालेले प्रत्यक्षतर्फ गोपाल दाहाल, छत्रप्रसाद रिमाल, तेजमान कन्दन्वा, नेत्र पन्धाक, बाबुराम थापा, भीमप्रसाद घिमिरे, मोहनकुमार डांगी, रामप्रसाद तिम्सिना, शिवप्रसाद ढुङ्गाना र हरी चोङ्बाङ्गलाई सिफारीस गरेको छ ।

समानुपातिकतर्फ उमानाथ भण्डारी, कमला सुबेदी गौतम, टंक खड्का, तारा संग्रौला, तुलसा सिलवाल, नारायण सुवेदी, प्रेमलता गौतम र राजमणि थपलियाको नाम सिफारिस भएको छ । पार्टीबाट उम्मेदवार सिफारिस भएका जिल्ला तहका अधिकांश नेताहरु टिकट आफ्नो पक्षमा ल्याउन काठमाडौंतर्फ लागेका छन् । (इकान्तिपुरबाट)