पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरको समग्र विकास र जनताको आकाङ्क्षा पूरा गर्न मेरो उम्मेदवारी : वसन्तकुमार नेम्बाङ

चिन्तन खबर

वसन्तकुमार नेम्बाङ

पाँचथर जिल्लाको सन्दर्भमा भन्ने हो भने मैले २०४८ सालदेखि जनताले अनुमोदन गरेर प्रतिपक्षमा बस्दा होस्, सरकारमा डेढ वर्ष मन्त्री हुँदा होस् चाहे सांसद नै नहुँदा होस्, पाँचथरको विकास र समृद्धिको निम्ति एउटा खाका सहित झण्डै ३० वर्षदेखि निरन्तरता दिएको छु ।

अघिल्लो पटक वि.सं. २०७४ मा म प्रतिनिधिसभाको सदस्य निर्वाचित भएपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारबाट चार वर्षको अवधिमा पाँचथरको पूर्वाधार निर्माणदेखि समग्र कुराहरु अघि बढाइएको छ । विगत ३०औं वर्षमा हुन नसकेका कामहरु यो चार वर्षको अवधिमा भएको छ । मन्त्री बनेर एक वर्षको नीति, कार्यक्रम र बजेट बनाउने अवसर प्राप्त गरेको थिएँ । यसका लागि पाँचथरवासी जनसमुदायलाई धन्यवाद पनि दिन चाहन्छु ।

पाँचथर जिल्लालाई पूर्ण विद्युतिकरण गर्ने अभियान चालियो । अहिले ६० वटै वडामा विद्युतिकरणको काम भएको छ । केही काम बाँकी छ, ती ठाउँका लागि रु. ६५ करोडको टेण्डर भएको छ ।

खानेपानीको स्रोत भएका स्थानहरुमा अरब–अरबका योजनाहरु सुरुआत भएका छन् । खानेपानीको मुहान नभएका अमरपुर, पञ्चमी, सुभाङ, भारपा, रानीगाउँ, स्याबरुम्बा, यासोक, आङ्ना, मौवा, हाङगुम, वलनेसम्म विद्युत पु¥याई तमोरको पानी तानेर वितरण गर्ने योजना अघि बढेको छ । यसरी हामीले खानेपानीको समस्या समाधानका लागि योजना अघि बढाएका छौं ।

देशभरी छँदै छ, बाटोको पूर्वाधार यस जिल्लामा विस्तारको कार्य अघि बढेको छ । पञ्चायतदेखि ०७४ सम्म राँकेदेखि काबेलीसम्मको कालोपत्रे बाहेक अन्यत्र कहिँ कालोपत्रे थिएन ।

केपी ओली प्रधानमन्त्री बनेपछि र मैले एउटा वर्षको नीति कार्यक्रम बनाउने अवसर पाउँदा ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानअन्तर्गत ठु–ठूला पूर्वाधारका योजना थालेका छौं । यसै अन्तर्गत तमोर कोरिडोर सडक कालोपत्रे सडक ट्रयाक खोलिएको छ ।

अहिले कालोपत्रेको ठेक्का लागेको छ । फिदिमदेखि यासोक हुँदै मौवासम्म सडक निर्माण गर्ने, दशमीदेखि छ नम्बर बुधबारे जोड्ने सडक निर्माण, उत्तरे–यासोक सडक निर्माण, १०१ किलोमिटरको राँके–रबि–भेडेटार निर्माणको सुरुआत गरेका छौँ ।

२०औं वर्षदेखि सुरुआत भएको फिदिम–फालोटको ३४ किलोमिटर कालोपत्रे भई बाँकी खण्ड कालोपत्रे प्राङबुङदेखि फालोटसम्म कालोपत्रे गर्न बाँकी छ । त्यस बाहेक तमोर कोरिडोरमा जोड्ने गरी अमरपुर–जोरपोखरी–फालोटको आधा खण्ड कालोपत्रेको सुरुआत भएको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्डको कालोपत्रेको सुरुआत गरेका छौं । म मन्त्री भएपछि केचन–कञ्चनजंघा पर्यटकीय सडक निर्माण थालिएको छ । त्यसको इलामसम्मको खण्ड कालोपत्रेको टेण्डर नै भएको छ । इलामदेखि भैंसे, च्याङथापु हुँदै कञ्चनजंघा बेसक्याम्प जोड्ने सडक निर्माण अघि बढेको छ ।

फिदिम बजारको सुदृढिकरण भयो । यस्ता अर्बौंका योजना सुरुआत गराएका छौँ । केही पूरा भए, केही बाँकी छन् । भौतिक पूर्वाधारका निर्माणका ठूल्ठुला योजनाहरु निरन्तरता दिएर पूरा गर्नका निम्ति मेरो नेतृत्व, मेरो उम्मेदवारी आवश्यक छ भन्ने आम जनताको मागलाई पूरा गर्न मेरो उम्मेदवारी रहेको छ ।

अर्को पूर्वाधारको क्षेत्र हामीले एकै पटक सुरुआत गरेका अस्पतालहरु गाउँगाउँमा धमाधम निर्माणाधीन छन् । पाँचथरको पर्यटन विकासमा लगानी गरेका छौं । शिक्षा, स्वास्थ्य, खेलकुदमा हामीले प¥याप्त बजेट ल्यायौँ ।

बहुदल आएदेखि ०७४ सालसम्म जे जति काम भए, ती सबैभन्दा यी पाँच वर्षमा धेरै काम भए । यस अवधिमा अतुलनीय काम भएको छ । विगतमा भएका सबै कामभन्दा अहिले हामीले सुरुआत गरेका काम बढी छन् ।

अहिले यी कामहरुमा फुलस्टप नलागोस्, यसले निरन्तरता पाओस्, यी कामले पूर्णता पाउन । यसले पूर्णता पायो भने यसले पाँचथर जिल्लाको समग्र पूर्वाधार विकास हुन्छ भनेर पनि मैले उम्मेदवारी दिएका हौँ ।

यी कुरा हामीले विगतमा ब्यवहारले देखाइसकेका छौँ । अहिले सबै कार्यकर्ता, जनता र पार्टीको आग्रहले मैले उम्मेदवारी दिएको हुँ ।

म विश्वस्त छु, म पाँचथरे जनताले विश्वास गरेर काम गर्न सक्ने ब्यक्तिका रुपमा टेस्टेड नम्बर वान उम्मेदवार हुँ । सबैको आग्रहबाट सबैको विश्वासले उम्मेदवार बनेको हुँ । जनताको अपेक्षा पूरा गर्न, पाँचथरको समग्र विकासका निम्ति मेरो उम्मेदवारी हो ।

सुरुआत भएका कामको पूर्णता र समग्र पाँचथरको विकासमा निम्ति मलाई पुनः एक पटक अवसर दिनुहुनेछ भनेर आम जिल्लावासीहरुमा म यहाँहरुमार्फत आव्हान गर्न चाहन्छु ।

अर्को कुरा

जनतामा पुगेपछि हिजो जिताएका सांसदको टाउकोको संख्याले काम दिदैन भन्ने कुरा गत वैशाक ३० गतेको स्थानीय निर्वाचनको परिणामले देखाइसक्यो । नेकपा (एमाले)ले राष्ट्रिय स्वाभिमान, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र जनताको न्यायका लागि गरेको कामका लागि जनताले ट्याङ्कामा सूर्य नै सूर्य हालेर सबै गठबन्धन एकातिर हुँदा पनि ३४ प्रतिशत मत दिएर एमालेलाई पहिलो दल बनाउनुभएको छ ।

एमालेको केपी ओलीको शाहसबाट देशको स्वाभिमान र राष्ट्रियताका लागि गरेको क्रियाकलाप र ब्यवहारलाई हेरेर जनताले अनुमोदन गर्छन् । धेरै टाउको जोडिँदैमा मत दिँदैनन्, टाउको जोडिँदैमा जित र हार दिँदैनन् । मत दिने त जनता हुन् ।

हामीले सर्वसम्मत उम्मेदवारी चयन गरेर अघि बढेका छौँ । म पूर्ण आशावादी र विश्वस्त छ । आगामी मंसिर ४ गते फैसला गर्ने त जनता हुन्, त्यसैले गठबन्धन हुँदैमा कुनै फरक पार्दैन ।

(आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताका क्रममा पूर्वमन्त्री एवं पाँचथर जिल्लाका लागि नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार वसन्तकुमार नेम्वाङले सञ्चारकर्मीसमक्ष ब्यक्त गरेका धारणामा आधारित ।)