फिदिम । पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
पाँचथर प्रदेश सभा १ तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू विजयी हुनुभएको छ । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गर्नुभयो । जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष तथा भण्डारी एमाले पाँचथरको अध्यक्ष हुनुहुन्छ ।
यस क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले एक हजार ६३४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमनाथ बजगाँईले एक हजार ३२३ मत, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले ९४१ मत, स्वतन्त्र उम्मेदवार सञ्चकुमार केरुङले ६०३ मत, मंगोल नेशनल अर्गनाइजेसनका मनकुमार गुरुङले ६३९ मत, राप्रपा नेपालका नेत्रकुमार बस्नेतले २४४ मत, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवाले १४१ मत र स्वतन्त्र उम्मेदवार इन्दिरा धौरालीले ३१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै पाँचथर प्रदेश सभा २ मा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गर्नुभयो । आङ्बो यसअघि पनि यहि क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत, जनता समाजवादी पार्टीका एबीराज आङ्देम्बेले एक हजार १७४ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङले एक हजार १२५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापोले ३७३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बलबहादुर बुर्जा मगरले २६४ मत, राप्रपा नेपालका चन्द्रमाया बोहोराले १४८ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा भएको भएको छैन् । पाँचथरमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।
प्रतिक्रिया