काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलमा सभापति शेरबहादुर देउवालाई टक्कर दिएका महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको खुलेको छ ।
संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाले ‘कुनकुन नेतालाई भेट्छन्, कहाँ गएर के गर्छन्’ भन्ने सूचना लिनको लागि २ जना प्रहरी खटाएको खुलेको हो। संसदीय दलको निर्वाचनअघि देउवाले आफ्नो व्यक्तिगत लाभका लागि प्रहरीको ‘दुरुपयोग’ गरेका हुन्। गएराती काठमाडौंको लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्सालस्थित मेरियट होटलमा गगन थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको हो।
लाजिम्पाटस्थित होटल एम्बास्डरमा गगन थापाका समर्थकले केही व्यक्तिलाई समातेर सोधपुछ गर्दा प्रहरीको परिचयपत्र फेला गरेको छ। उनीहरू निगरानीका लागि प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी खटिएको भेटिएको छ। थापाको निगरानी गर्नेहरूमा प्रहरी नायव निरीक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको छ। उनीहरू दुवै जना विशेष ब्युरोमा कार्यरत रहेको पनि खुलेको छ ।
गगन थापाको सचिवालयका एक सदस्य सबिन मुडभरिले भने, “गगन दाइ हिजो दिउँसो जताजता जानुभयो। बाइकमा रहेका २ जनाले त्यतै पछ्याए। हामीले गाडी रोक्दा उनीहरूले बाइक रोकेर फोन गरेजस्तो गरे। पछि होटलमा पनि गगन थापाको समर्थक झैँ गरेर बसे। अरूसँग कुरा गरिरहे। शंका लागेर सर्च गर्दा प्रहरीका कागजात फेला गर्यो।”
प्रतिक्रिया