पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले प्रदेश १ संसदीय दलको नेता भोलि छानिँदै, कांग्रेसको १५ गते

चिन्तन खबर

विराटनगर । नेकपा (एमाले)ले प्रदेश १ मा आइतवार संसदीय दलको नेता छान्ने भएको छ । संसदीय दलको नेता छान्नका लागि एमालेले आइतवार बैठक बोलाएको छ । आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले सांसद बुद्धिकुमार राजभण्डारीले बताए ।

प्रदेश १ संसदको सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ जना र समानुपातिकतर्फ १५ जना सांसद जितेको थियो । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत भएका एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की संसदीय दलको नेता बन्ने बलियो सम्भावना रहेको एमालेका नेताहरू बताउँछन् ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन् । झापा क्षेत्र नम्बर ५ (१) बाट उनी निर्वाचित भएका थिए । दलको नेता छान्न सकस नभएको एमालेका नेताहरू बताउँछन् । “अरू माननीयज्युहरूले नेता बन्नका लागि इच्छा प्रकट गर्नु भएको छैन”, एमाले प्रदेश कमिटीका सहइन्चार्ज विनोद ढकालले भने “पूर्वमन्त्री पनि भएकाले हिक्मतजी नै नेता बन्ने सम्भावना बढी रहेको छ ।”

नेपाली कांग्रेसले भने पुस १५ गते भित्रमा संसदीय दलको छान्ने भएको छ । शपथ ग्रहण पछाडि बैठक बसेर निर्वाचन समिति बनाउने र १५ गते भित्रमा नेता छान्ने प्रदेश सभा सदस्य तथा प्रदेश १ का सभापति उद्धव थापाले बताए । संसदीय दलको नेता निर्वाचनबाटै छान्ने सम्भावना बढी रहेको उनले बताए ।

नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथग्रहण सोमवार हुँदै छ । प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा दिउँसो साढे १ बजे शपथ ग्रहण हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।