पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाचौं सुम्हात्लुङ मिनि म्याराथुन हुँदै

चिन्तन खबर

फिदिम । पाँचथरमा यहि पुष १४ गते पाचौं सुम्हात्लुङ मिनि म्याराथुन हुदैछ ।

सुम्हात्लुङ क्षेत्र सहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनका लागि आयोजित म्याराथुन कोभिड–१९ को प्रकोपका कारण विगतका दुई वर्ष स्थगन भएको थियो । यस वर्ष सुम्हात्लुङ परिसरमा आयोजित चासोक मेलाका अवसरमा म्याराथुन आयोजना गरिएको सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानले जनाएको छ ।

म्याराथुन ९.५ किलोमिटर दूरीको हुनेछ । फिदिम नगरपालिका–४ सुम्हात्लुङ गढीबाट फिदिमका आहालगैरी, जोरसाल, बसपार्क, शनिवारे मन्दिर, हुलाकलाइन, जिल्ला प्रहरी कार्यालय हुँदै पुनः सुम्हात्लुङ पुग्ने म्याराथुनको रुट तय भएको सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानका दिलकुमार लावतीले जानकारी दिनुभयो ।

म्याराथुनको विजेताले रु. ३० हजार, उपविजेताले रु. २० हजार, तृतीय स्थान हाँसिल गर्नेले रु. १० हजार र १० जनालाई सान्तवना पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएका छन् । पर्यटन प्रवद्र्धनका लागि चासोक मेलाका अवसर विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको मेला आयोजक समितिका दीपेन योक्पाङ्देनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष १३ गते सुरु हुने मेलामा पुष १४ गते सुम्हात्लुङ मिनि म्याराथुन र केलाङ (धाननाच) प्रस्तुतिको कार्यक्रम रहेको छ । यस्तै पुष १५ गतेबाट जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ ।

पुष २२ गतेसम्म चल्ने मेला अवधिभरि मौलिक खानाका परिकारहरुको स्टल राख्ने, रोटेपिङ सहितका मनोरञ्जनात्मक गतिविधिहरु सञ्चालन गर्नेसमेत आयोजकले जनाएका छन् । मेला सम्पन्न गर्न करीब रु. ६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । सुम्हात्लुङ क्षेत्र किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र र एक ऐतिहासिक स्थलका रुपमा परिचित छ ।