फिदिम । पाँचथरको फिदिममा आयोजित पाचौं सुम्हात्लुङ मिनि म्याराथनको उपाधि सुनसरीको धरानका प्रशान्त तामाङले उचालेका छन् ।
म्याराथनमा ९.५ किलोमिटर दूरीको तामाङले २९ मिनेट १० सेकेण्डमा पार गरेका थिए । म्याराथनमा ताप्लेजुङका रमेश लिम्बू द्वितीय र पाँचथरको हिलिहाङ–५ का दीपक सुहाङ तृतीय भएको आयोजक सुम्हात्लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले जनाएको छ ।
उक्त दूरी द्वितीय भएका लिम्बूले २९ मिनेट ५० सेकेण्ड र तृतीय भएका सुहाङले ३० मिनेट २० सेकेण्डमा पारेका गरेका थिए । प्रतिष्ठानका अनुसार उपाधि विजेताले रु. ३० हजार, द्वितीयले रु. २० हजार र तृतीयले रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ ताप्लेजुङकी समपाल्मु शेर्पा प्रथम भइन । शेर्पाले निर्धारित दूरी ३७ मिनेटमा पार गरेको आयोजकले जनाएको छ । खुल्ला म्याराथन आयोजना गरिएपनि महिला धावक समेत सहभागी भएपछि महिलातर्फको विधा समेत थप गरिएको आयोजकले जनाएको छ । महिलातर्फका विजेताले रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै पुरुषतर्फ उत्कृष्ट ३ जनाका अतिरिक्त थप १० जनालाई सन्तवना पुरस्कार प्रदान गरिएको थियो । म्याराथन फिदिम नगरपालिका–५ गढीस्थित सुम्हात्लुङ मन्दिरबाट सुरु भई फिदिमका क्याम्पसमोड, जोरसाल, पल्लोटार बसपार्क, शनिवारे मन्दिर, हुलाकलाइन, प्रहरी कार्यालय हुँदै पुनः सुम्हात्लुङ मन्दिर पुग्ने रुट तय भएको थियो ।
फिदिममा हिँजोबाट सुरु भएको चासोक मेलाका अवसरमा म्याराथन आयोजना गरिएको हो । किराँत सम्बत येले तङ्बे ५०८२ को अवसरमा सुम्हात्लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले मेला आयोजना गरेको हो ।
प्रतिक्रिया