Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पिनासीकी चनमति माझीले पाइन ९३ वर्षको उमेरमा नागरिकता « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पिनासीकी चनमति माझीले पाइन ९३ वर्षको उमेरमा नागरिकता

चिन्तन खबर

फिदिम । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भएपनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नु पर्‍यो ।

हातपाउ गल्न थालेपनि आवश्यक जानकारी र साथ दिने कोही नहुँदा चनमति माझी ९३ वर्षको उमेरसम्म गैह्रनागरिक बनेरै बस्नुभयो । हिलिहाङ गाउँपालिका वडा नं. २ पिनासीकी चनमतिलाई हिँजो भनें उहाँकै घर पुगेको प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्या सहितको टोलीले नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ ।

सञ्चार माध्यमहरुमा ९३ वर्षको उमेरमा समेत चनमतिले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेको तथा नागरिकताको प्रमाणपत्रको अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन/प्रशारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएका थिए । चनमतिको अवस्था बुझ्न गतसाता जिल्ला प्रशासन कार्यालय पाँचथरको टोली उहाँको घर पुगेको थियो ।

नागरिकताको प्रमाणपत्र प्राप्त गर्न योग्य ब्यक्ति भएपनि चनमतिले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले हिँजो उहाँको घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिनुभयो । नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी चनमतिका श्रीमानको दुई वर्षअघि निधन भएको थियो ।

उहाँका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण चरम गरिबी र छिमेकीको सहायतामै चनमतिले वयोवृद्ध जीवन गुजार्दै आउनुभएको छ । नागरिकताको प्रमाणपत्रकै अभावका कारण चनमतिले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवा समेत लिन नपाएको उहाँका छिमेकीहरुको भनाई छ ।

बाख्रा र कुखुरा पालेर बस्नुभएकी उहाँलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन । तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने खुशी हुनुभयो ।

विगतमा श्रीमानको सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन चनमतिलाई सहज थियो । तर श्रीमानको निधनपछि उहाँको जीवन अभावमा गुज्रिरहेको छ ।

अव भने चनमतिको रेखदेखको जिम्मा लिने हिलिहाङ गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । “उहाँको सहज जीवन यापनका लागि आवश्यक काम थाल्ने छौं”, गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले भन्नुभयो, “घर निर्माण गर्ने र रेखदेखको ब्यवस्था गर्छौं ।”

भत्केको सानो घरमा कष्टकर जीवन विताउन बाध्य चनमति अरुका घरमा गएर नबस्ने बताउँदै आउनुभएका कारण गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रवन्ध गर्ने सोच बनाएको उहाँको भनाई छ ।