पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पम्पिङ प्रविधिबाट पाथीभरा मन्दिरमा पुग्यो खानेपानी

चिन्तन खबर

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पम्पिङ प्रविधिको सहायताले खानेपानी पुगेको छ ।

पम्पिङ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्‍याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ ।

फुङ्लिङ नगरपालिका वडा नं. ११ फावाखोलाको डढेलेस्थित मुहानबाट काफ्लेपाटी हुँदै लिफ्टिङ प्रविधिबाट मङ्गलबार पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

पाथीभरा मन्दिर क्षेत्रमा रहेको लिफ्टिङ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुर्‍याइएको छ । “यो साता गरिएका सबै प्रयास सार्थक बनेपछि अन्ततः पानी मन्दिरसम्म पुर्याउन सफल भएका छौँ”, उनले भने । यो सँगै लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्याउने कार्यको प्रारम्भिक परीक्षण गरिएको निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताए ।

डढेले मुहानको पानी सञ्चित गर्न काफ्लेपाटीमा इन्टेक ट्याङ्की निर्माण गरिएको छ । पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याउन २०७७ असोजमा सम्झौता भएको थियो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने योजना छ । यो आयोजना कुल आठ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिको ३० प्रतिशत लागतमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो । योजनामा सरकारको पाँच करोड ७५ लाख रुपैयाँ र समितिको दुई करोड ४६ लाख रुपैयाँ लगानी रहेको छ ।

काफ्लेपाटीबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै लिफ्टिङ ट्याङ्कीमार्फत पाथीभरा मन्दिरमा पानी पुग्ने व्यवस्था मिलाइएको छ । काफ्लेपाटीसहित छवटा ट्याङ्कीमा पाँचवटा स्टेशनमार्फत पम्पिङ प्रविधिमार्फत पानी माथिल्लो ट्याङ्कीसम्म पुर्‍याउने गरिएको छ ।

यसअघि पाथीभरा मन्दिरमा पानीको समस्या हुँदा तीर्थालुले हैरानी खेप्दै आएका थिए । तीर्थालुले माथिल्लो फेदीबाटै पानी बोकेर लैजानुपर्ने बाध्यता थियो ।