पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिवामा साहित्यिक साँस्कृतिक कार्यक्रम सम्पन्न

चिन्तन खबर

फिदिम । स्थानीय लोककला र संस्कृतिको प्रवर्द्धन तथा खेलकुदको विकास गर्ने उद्देश्यसहित पाँचथरको फिदिम नगरपालिका–६ सिवामा भलिवल प्रतियोगिता र सिवा साँस्कृतिक महोत्वस आयोजना गरिएको छ ।

सिवामा वर्षेनि लाग्दै आएको अर्थे मेलाका अवसरमा पालिकास्तरीय भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । माघ २३ गते सुरु भएको मेलामा शनिवार पालिकास्तरीय भलिबल प्रतियोगिता तथा शुक्रवार साहित्यिक साँस्कृतिक कार्यक्रम हिँजो सम्पन्न भएको छ । साहित्यिक साँस्कृतिक कार्यक्रममा सो वडामा बसोबास आदिवासी जनजातिहरुले आ–आफ्ना लोक नृत्यहरु प्रस्तुत गर्नुका साथै श्रष्टाहरुले नेपाली तथा लिम्बू भाषामा कविता, गजल लगायत रचनाहरु वाचन गरेका थिए ।

अर्थे मेला ब्यवस्थापन समितिको आयोजना तथा फिदिम नगरपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा लिम्बू समुदायका युवा युवतीले च्याब्रुङ नाँच, राई समुदायका युवा युवतीले साकेला नाच र मगर जातीका युवा युवतीले हुर्रा र कौडा नृत्य प्रस्तुत गरेका थिए । आ–आफ्नो समुदायको लोक नृत्य प्रस्तुतीमा विशेषत युवा पुस्ताको भूमिका र सहभागिता थियो । यस्तै लिम्बू समुदायका युवाहरुले पालाम गाएका थिए ।

सोही अवसरमा खुल्ला कविता प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा जीवन गौतमले प्रथम, प्रेमप्रसाद नेपालले द्वितीय र कमल घिमिरेले तृतीय स्थान हाँसिल गर्नुभएको सिवा साहित्यिक साँस्कृतिक महोत्सव आयोजक उपसमितिका संयोजक सन्देश सुब्बाले जानकारी दिनुभयो । कार्यक्रममा गायीका गंगा फियाकले साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सो वडाको कला, साहित्य र संस्कृतिको विकास एवं सम्वद्र्धनमा भूमिका खेल्ने स्थानीय अगुवाहरुलाई सम्मान गरिएको थियो । कला संस्कृतिको संस्थागत विकासमा योगदान दिने नेपाल मगर संघ फिदिम–६ का डीकबीर सारु मगर, किराँत राई यायोक्खाका राजेश राई र किराँत याक्थुङ चुम्लुङका टेकबहादुर तुम्रोक तथा सो वडाका पहिलो कृति रचयिता उत्तर लिम्बूलाई नगद सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य मैया श्रेष्ठ (लावती)ले पुरस्कार तथा सम्मान–पत्र हस्तान्तरण गर्नुभयो ।

एक शताब्दीभन्दा लामो समयअघि सुरुआत भएको अर्थे मेलालाई विगतका बर्षबाट पुनः निरन्तरता दिई स्थानीय लोककला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने प्रयास थालिएको फिदिम–६ का वडाध्यक्ष बिपन तुम्रोकले वताउनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले लोककला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने अभियानले लोप हुन लागेका कला, संस्कृति र परम्पराको जगेर्ना तथा पुस्तान्तरणमा मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।