काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग बराबरी खेलेको छ । बुधबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो ।
चेन्नईमाको जवाहरलाल नेहरू स्टेडियममा नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गर्नुभयो । त्यस्तै भारतका लागि सौम्या गुगुलोथ र इन्दुमथी काथिरेसनले समान एक एक गोल गर्नुभयो। खेलको चारै गोल दोस्रो हाफमा भएको थियो । नेपालले दुई गोलको अग्रता उल्टाएर भारतसँग बराबरी खेलेको हो ।
खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाउनुभएको थियो । त्यसपछि खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउनुभयो ।
खेलको ९० औं मिनेटमा पुगेपछि नेपालले पेनाल्टिको अवसर पाएको थियो जसमा सावित्रा भण्डारीले गोल गर्दै नेपालका लागि खाता खोल्नुभयो। त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै २(२ गोलको बराबरीमा ल्याउदै नेपाललाई हारबाट जोगाउनुभयो ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।
प्रतिक्रिया